म्याग्दी गलेश्वरका वासिन्दाको उदाहरणीय कार्य, एकवर्ष अगावै खानेपानी योजना सम्पन्न

सन्तोष गौतम /रासस

म्याग्दी, मङ्सिर ७ गते ।

ढिलासुस्तीका कारण नेपालमा धेरैजसो पूर्वाधार विकासका योजनाहरु प्रभावित बनेको अवस्थामा म्याग्दीको गलेश्वरका बासिन्दाले भने लक्ष्यभन्दा अघि नै खानेपानी योजना निर्माण गरेका छन् । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित बेनी नगरपालिका– ९ गलेश्वरमा आव ०७१÷७२ मा सुरु भएको गलेश्वरधाम खानेपानी तथा सरसफाइ आयोजना एकै वर्षमा सम्पन्न भएको हो ।

Khanipani Tanki

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयसँग २०७३ असार मसान्तसम्ममा योजना सम्पन्न गर्ने सम्झौता भए पनि गत असारमै योजना सम्पन्न भइसकेको उपभोक्ता समितिका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो । “कार्यालयले अघिल्लो आवमै योजनाका लागि आवश्यक बजेट र पाइपलगायतका सामग्री उपलब्ध गराएको थियो” – अध्यक्ष पुनले भन्नुभयो – “चालु आवमा उपभोक्ताले गर्नुपर्ने काम अघिल्लो वर्ष नै नगद सङ्कलन र श्रमदान जुटाएर सम्पन्न गरेका हौँ ।”

उपभोक्ताको सक्रियताका कारण रु एक करोड ४० लाख लागत अनुमान गरिएको उक्त आयोजना रु एक करोडमा लक्ष्यभन्दा अघि नै सम्पन्न भएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले बताउनुभयो ।

उक्त आयोजनामार्फत गलेश्वर बजार र पिप्ले– १ मा रहेका १२५ वटा सबै घरमा धारा जडान गरिएको छ । समयको बचत, सुविधा र व्यवस्थापन तथा आयोजनाको दिगो सञ्चालनका लागि सार्वजनिक धाराको विकल्पमा घर घरमा धारा जडान गरिएको आयोजनाका कर्मचारी धनप्रसाद पाइजाले बताउनुभयो ।

पहिले सार्वजनिक धारामा लाइन बस्नुपर्ने, पाइपमार्फत घरमा पानी लैजाने गर्दा मर्मत सम्भारमा कठिनाइ हुनुका साथै स्थानीयवासीलाई दुःख र असुविधा थियो ।

घर घरमा धारा जडान भएपछि भनेको समयमा सहज रुपमा आवश्यकताअनुसार पानीको प्रयोग गर्न पाउनुका साथै समयको पनि बचत भएको स्थानीयवासीले बताएका छन् ।

माझफाँटको दह र घतानको पत्रेबगरको मुहानबाट ल्याएको पानी ५० हजार लिटर क्षमताको मुख्य टङ्कीमा सङ्कलन र प्रशोधन गरी वितरण गरिएको छ । उक्त आयोजना निर्माण गर्न खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जिआई पाइपसँगै रु २९ लाख ५८ हजार ५०० नगद सहयोग गरेको आयोजनाका सचिव योगेन्द्र केसीले बताउनुभयो ।

आयोजनामा उपभोक्ताबाट थप रु ११ लाख ९१ हजार २५० लगानी भएको छ । प्रतिघर रु १३ हजारका दरले शुल्क सङ्कलन गरिएको हो । उपभोक्ताबाट सङ्कलन गरिने शुल्कमा दलित, एकल महिला र विपन्नलाई २५ र महिलालाई १० प्रतिशत छुट दिइएको छ ।