बासखर्कमा सुन्तला महोत्सव

ठाकुरप्रसाद आचार्य/बेनी
माघ ११ गते ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिले गाउँलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएको बताउनुभएको छ । कृषि उत्पादन बिक्री गरेर गाउँमा करोडौं भित्रिने भनेको सानोतिनो कुरा नभएकाले प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रमहरु संचालन गरेको उहाँको भनाई थियो ।


कृषि र पर्यटनलाई गण्डकीको विकास र समृद्धिसँग जोडेर प्रदेश सरकारले प्राथमिकताका साथ नीति,कार्यक्रम तथा बजेट बनाउने गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । कृषि उत्पादन वृद्धि गर्न प्रदेश सरकारले उत्पादनका आधारमा कृषकलाई अनुदान दिने गरेको उहाँको भनाई छ ।


म्याग्दीको बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नम्बर, १ बासखर्कमा शुक्रबार जलजला गाउँपालिकाले आयोजना गरेको प्रथम सुन्तला महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘कृषि उत्पादनलाई बजार सम्म पु¥याउने मुख्य माध्यम भनेको सडक हो । सडक राम्रो नहुँदा सहज रुपमा कृषि उत्पादनलाई बजारमा लैजान सकिएको छैन । यहाँको समस्या पनि सडक नै छ । प्रदेश सरकारले सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको छ ।’’


बासखर्कका सुन्तलालाई बजार सम्म लैजाने सडक स्तरोन्नतिका लागि आगामी वर्ष प्रदेश सरकारले प्राथमिकताका साथ बजेट गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


बासखर्कका सुन्तला बजार सम्म पु¥याउनका लागि राम्रो सडक नभएकाले यहाँहरुलाई समस्या भइरहेको छ उहाँले भन्नुभयो, ‘‘अहिले प्रदेश सरकारले यहाँको सडक स्तरोन्नतिका लागि केही बजेट विनियोजन गरेको छ । आगामी वर्ष प्राथमिकताका साथ सडक स्तरोन्नतिलाई बजेट विनियोजन गर्दछौं ।’’


जलजलाका विभिन्न पूर्वाधार विकास योजनाहरुमा चालु आर्थिक वर्षमा प्रदेश सरकारले दश करोड रुपियाँ बजेट विनियोजन गरेको उहाँको भनाई थियो । बासखर्क क्षेत्रलाई सुन्तला खेतीको जोनका रुपमा विस्तार गर्ने योजना प्रदेश सरकारले अघि सारेकाले चाँढै याजना सुरु हुने उहाँको भनाई थियो ।


सुन्तला खेतीको प्रवद्र्धन र बजारीकरणका लागि प्रदेश सरकारले सामुहिक वा व्यक्तिगत रुपमा सुन्तला खेती गर्ने किसानलाई लगानीको पचास प्रतिशत अनुदान दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । ‘‘उत्पादन गर्दछु भन्ने किसानलाई होइन उत्पादन गरेका किसानलाई प्रदेश सरकारले अनुदान दिन्छ’’ उहाँले भन्नुभयो ।


प्रदेश सरकारसँग सिमित साधनस्रोत भएकाले स्थानीय तहका जनप्रतिनिधिहरुले प्राथमिकताका आधारमा बजेट माग गर्न उहाँले अनुरोध समेत गर्नुभयो । कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउनु पर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । बासखर्कको सुन्तला खेतीले गाउँमा पनि संभावना छ भन्ने बलियो आधार दिएको बताउँदै उहाँले भन्नुभयो, ‘‘बासखर्कमा सुन्तला खेतीको विस्तार,प्रवद्र्धन र बजारीकरणलाई टेवा दिने काम प्रदेश सरकारले गर्दछ ।’’


महोत्सवमा कृषि,भूमी व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषि उत्पादनलाई वृद्धि गरी ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउन प्रदेश सरकारले सिँचाई सुविधा,अनुदान,तालिम,प्रविधिको विकास र उपकरणमा अनुदान दिने कार्यक्रम संचालन गरेको बताउनुभयो । राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल र प्रदेश सभा सदस्य भक्त कुँबरले बासखर्कको सुन्तला निर्यातका लागि सडक स्तरोन्नति र सिँचाई सुविधाका लागि आफूहरुले पहल गर्ने बताउनुभयो ।


महोत्सव मार्फत बासखर्कका किसानले उत्पादन गरेको सुन्तलाको प्रचारप्रसार गरी बजारीकरणमा टेवा पु¥याउन र यहाँको समस्याहरु कृषकले मुख्यमन्त्री समक्ष राख्ने अवसर दिलाउनका लागि गाउँपालिकाले एकदिने सुन्तला महोत्सवको आयोजना गरेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । महोत्सवले यहाँको सुन्तला उत्पादन गर्ने किसानलाई थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्समा बासखर्कका उत्कृष्ट तीनजना सुन्तला उत्पादन गर्ने किसानहरु जगतबहादुर खत्री,शान्त बहादुर छिन्तेल र हेमकुमार अर्मजालाई मुख्यमन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो ।


बासखर्कमा यस वर्ष करिब १९ करोड रुपियाँ बराबरका सुन्तला उत्पादन भएको वडाध्यक्ष जकबहादुर रोकाले बताउनुभयो । यहाँका दुईसय ३९ घरधुरीले व्यवसायिक रुपमा सुन्तला खेती गरेको र प्रति घरपरिवारले कम्तीमा पाँचलाख देखि ४० लाख रुपियाँ सम्म आम्दानी लिने गरेको उहाँको भनाई थियो ।

स्थानीय तह,प्रदेश र संघीय सरकारले सडक स्तरोन्नति,सिँचाई सुविधा,किसानलाई प्रविधि र उपकरणमा सहयोग गरे अहिले भन्दा दोब्बर उत्पादन हुने उहाँको भनाई थियो । महोत्सवले यहाँको सुन्तला खेतीको प्रवद्र्धन र बजारीकरणमा थप टेवा मिल्ने वडाध्यक्ष रोकाले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *