ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १२ गते ।

कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–जोमसोम सडक खण्ड र म्याग्दीको पश्चिम भेगलाई जोड्ने बेनी–दरबाङ सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सोमबार बेनीमा बसेको सरोकारवालाहरुको बैठकले बर्खायाममा रातको समयमा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

सोमबार प्रमुख जिल्ला अधिकारी ढकालको पहलमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री,स्थानीय तहका प्रमुख एवम् पदाधिकारीहरु,सुरक्षा निकायका प्रमुखहरु र यातायात व्यवसायीहरु लगायत सरोकारवालाहरुको बैठकले मनसुन सक्रिय भएकाले बाढी तथा पहिरोको जोखिम भएका सडकहरुमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
वर्षातको समयमा सुरक्षा सर्तकता अपनाउन र बाढी,पहिरोको कारणबाट यात्रु,सवारी साधन तथा जीउधनको हुनसक्ने सम्भावित क्षति न्यूनिकरणका लागि सजकता अपनाउन बेनी–जोमसोम,बेनी–दरबाङ र बेनी–बागलुङ सडकमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
मनसुन सक्रिय भएकाले संभावित जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना जारी गर्दै सतर्कता अपनाउन सवैमा अनुरोध गरेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरुमा अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन रातको समयमा संचालन नगर्न सूचना प्रकाशित गरी अनुरोध गरिएको हो ।