ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,साउन ५ गते ।
कालिगण्डकी र म्याग्दी नदी किनारमा निर्माण गरिएको रिङरोड अहिले चर्चामा छ । रिङरोड सामाजिक सञ्जाल भाइरल बनेको छ । विहानी र साँझपख सडकमा पैदलयात्रा गर्नेको निकै भिड देखिन्छ ।

सर्वसाधारणहरुले फोटो र भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गर्ने गरेका छन् । बजार भित्रको सडकको वैकल्पिक सडकका रुपमा विकास गरिएको यो रिङरोड अहिले पर्यटकीय स्थल जस्तो बनेको छ । यो दूरीका हिसाबले छोटो छ तर यसले नगरवासीको मुहारमा खुसी ल्याएको छ ।
करिब नौसय मिटरको रिङरोडले नगरवासीलाई खुसी तुल्याएको छ । यसले बेनीको मुहार फेरिदिएको छ । बेनी संरक्षणका लागि बनाइएको तटबन्ध माथि आरसीसी ढलान गरेर सडक निर्माण गरिएको हो ।

वर्षौ देखि हिउँदमा धुलाम्मे र बर्खायममा हिलाम्मे हुन्थ्यो यो सडक । सडकबाट उडेको धुलो बजारसम्म नै आइपुग्थ्यो । कालिपुल स्थित कालिगण्डकी मोटरेबल पुल देखि बेनी आउने सडकमा विगतमा पानीका ठुलठुला तालहरु थिए । सडकमा जमेको पानीका तालहरु सामाजिक सञ्जालमा पोष्ट गरेर जनप्रतिनिधिहरुलाई सर्वसाधारणहरुले गाली गर्दथे ।
कालिपुल स्थित कालिगण्डकी मोटरेबल पुल देखि सुरु हुने यो सडक जिल्ला प्रहरी कार्यालय सम्म छ । रिङरोडलाई सौन्दर्यकरण गरेर आकर्षक बनाउनुपर्ने माग बढेको छ । कालिगण्डकीको तिर,खुल्ला र शान्त ठाउँ भएकाले अहिले सर्वसाधारणहरुको रिङरोडमा घुमफिर बढेको छ । साँझपख सडकमा निकै भिडभाड हुन्छ । सर्वसाधरणहरुको चाहना बुझेर नगरपालिकाले यो रिङरोडको सहि व्यवस्थापनको खाँचो छ ।

रिङरोडलाई आकर्षक र सुरक्षित बनाउन बेनी नगरपालिकाका वडा नम्बर ७ र ८ ले काम थालेका छन् । आगामी आर्थिक वर्षमा दुईवटा वडाले १५ लाख रुपियाँ बजेटको व्यवस्थापन समेत गरेका छन् । अहिले वडा नम्बर ८ ले कालिपुल देखि डिलतर्फ रेलिङ हाल्न थालिएको छ । सडक बत्ती राख्ने,सडक छेउमा सानो खालको फुटपाथ बनाउने र फूलहरु रोप्ने लगायतका कामहरु आगामी आर्थिक वर्ष देखि सुरु गरिने बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।
कालिपुल देखि सुरु भएको रिङरोडलाई बेनी नगरपालिका गेट अगाडीसम्म पु¥याउँदै हाँडेभिर हुँदै लभ्लिहिल सम्म पु¥याउने उद्देश्य रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, रिङरोड योजनाका लागि हामीले १८ करोड ७५ लाख रुपियाँ बराबरको डिपिआर बनाएका छौं । अहिले पहिलो चरणको सडक निर्माणको काम सम्पन्न भएको छ । बाँकी योजना अगाडी बढाउन नगरपालिकाले पहल थालेको छ ।’’

मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु कालिपुल बसपार्क देखि रिङरोड हुँदै पर्यटकीय स्थल लभ्लिहिल सम्म पु¥याउने र त्यहाँबाट बेनी बजारको दृश्यवलोकन गर्ने स्थलका रुपमा विकास गर्ने नगरपालिकाको छ । रिङरोड निर्माण पछि बजारमा सवारीसाधनको चाप समेतमा कमि आउने वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । ठूला सवारीसाधनलाई रिङरोडबाट नै आवजावतको व्यवस्था मिलाउन लागेको उहाँको भनाई छ ।
रिङरोड बनाउन संघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा गत चैत महिनामा योजना अगाडी बढाएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौताको म्यादभन्दा २५ दिन अघि आरसीसी ढलान सहितको रिङरोड निर्माण सम्पन्न गरेको थियो । सडक ढलान गरेर चिटिक्क पारिएपछि कालिगण्डकी र म्याग्दी नदी किनार सुन्दर देखिएको छ ।

योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले असार १५ सम्म सडक निर्माण सम्पन्न गर्नेगरी गत चैत महिनामा ३ करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेवीसँग ठेक्क सम्झौता गरेको थियो । कार्यालयका इन्जिनियर विरबल सुनारका अनुसार बेनी नगरपालिका ८ कालिपुल देखि वडा नम्बर ७ स्थित जिल्ला प्रहरी कार्यालय सम्म ५ देखि ६ मिटर चौढाईमा नाली सहित नौसय मिटर दूरीको सडक आरसीसी ढलान गरिएको छ । ठेक्का सम्झौता लगत्तै निर्माण व्यवसायीले उपकरण र मजदुर परिचालन गरेर निर्माणलाई तिव्रता दिएको थियो ।
नेपाल सरकारले अगाडी बढाएको दशवटा नमूना नगरपालिका कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले बेनी रिङरोड स्तरोन्नति योजना प्रस्ताव गरे अनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन भई कालिगण्डकी नदी किनारमा रिङरोड निर्माण गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।