निस्कोटमा त्रिपालभित्र स्वास्थ्य सेवा, राज्य कहाँ छ ?


ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन ३ गते ।

एकतलाको जिर्ण भवन । त्यहीँ भवन पनि पानी चुहिने । विरामी ओत्न छानालाई त्रिपालले छोपिएको छ । त्रिपालमुनि विरामी राखेर वर्षौदेखि उपचार गर्नुपर्ने बाध्यता म्याग्दीको मालिका गाउँपालिका १ मा रहेको निस्कोट स्वास्थ्य चौकीलाई छ । करिब ३० वर्ष अघि बनेको पुरानो र जिर्ण भवनबाट वडावासीलाई स्वास्थ्यसेवा प्रवाह गर्न कठिनाई भएको छ ।
वर्षौदेखि मर्मत नपाएको भवनको छानो चुहिन थालेपछि सेवा सञ्चालनका लागि त्रिपाल ओढाएर पानी छेकिएको छ ।

स्थानीयवासी र स्वास्थ्यकर्मीले पटक–पटक मर्मतको माग गरे पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन् । बिरामी जाँच, औषधि वितरणदेखि सामान्य उपचारसम्म जिर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ ।


तीस वर्ष अघि बनेको भवनको मर्मतसम्भार नहुँदा बर्खायाममा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर विरामीको उपचार गर्ने गरिएको स्वास्थ्य चाँैकीका प्रमुख अजित विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जिर्ण भवन त्यसमा पनि पानी चुहिएर समस्या हुने गरेको छ । विगत तीनवर्ष देखि त्रिपालमुनि विरामी राखेर उपचार गरेका छौं । सुविधासम्पन्न भवन नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौं । त्रिपाल थोत्रो भएकाले यसपाली पनि वडा कार्यालयसँग त्रिपाल माग गरेका छौं ।’’
साँघुरा कोठा भएकाले उपचारमा समेत समस्या भएको उहाँको भनाई छ । उहाँका अनुसार भवनमा चारवटा मात्र कोठा छन् । एकतातिर कोठाको अभाव र त्रिपालमुनि भएपनि स्वास्थ्यचौकीले हालै मात्र बर्थिङ सेन्टर समेत संचालनमा ल्याएको उहाँको भनाई छ । स्वास्थ्यचौकीमा पाँचजना स्वास्थ्यकर्मीहरु कार्यरत हुनुहुन्छ । सानो र जिर्ण भवन भएकाले स्वास्थ्यकर्मीहरु बसेर सेवाप्रवाह गर्न समेत कठिन भएको स्वास्थ्यचौकी प्रमुख विकले गुनासो गर्नुभयो ।
‘‘नयाँ भवन बनाउन हामीले वडा हुँदै पालिका सम्म पनि माग गरेका छौं, तर सुनुवाई भएको छैन । भवन बनाउन जग्गा व्यवस्थापन भएको छैन भनेर जनप्रतिनिधिहरुले भन्नुहुन्छ । बर्खालाग्दा हामीलाई त्रिपालकै चिन्ता हुन्छ । पहिला हालेको त्रिपाल थोत्रो भएर पानी चुहिनी भएको छ । सामान्य मर्मत सम्भार मात्र गरिदिएपनि स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने थियो,’’ स्वास्थ्यचौकी प्रमुख विकले भन्नुभयो । भवनको मर्मत सम्भार गर्ने बजेटको समेत स्थानीय तहले प्रबन्ध मिलाउन नसक्दा दुःख लागेको उहाँको भनाई छ ।
जग्गा व्यवस्थापन र नयाँ भवन बनाउन पहल गरेपनि सार्थकता नपाएको उहाँको भनाई छ । स्वास्थ्यचौकीबाट मासिक रुपमा एकसय पचास देखि दुईसय सम्म सेवाग्राहीले स्वास्थ्य उपचार सेवा लिने उहाँको भनाई छ ।
मालिका गाउँपालिका १, निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले २०५० सालमा बनेको भवन जिर्ण भएकाले नयाँ बनाउन पहल भएपनि जग्गा व्यवस्थापन नहुँदा नयाँ भवन बनाउन ढिलाई भएको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *