विकल्प न्यूज\बेनी
साउन १२ गते ।

लोकप्रिय गायक बद्री पंगेनी र गायिका रचना रिमालले नयाँ तीग गीत ल्याएका छन् । पंगेनी र गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ तीज गीत कोसेली ‘पाल्पाली कान्छो’ सार्वजनिक गरिएको छ। तीज आउन अझै झण्डै एक महिना बाँकी भए पनि सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ।
यही माहोलमा पंगेनीले आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका हुन्। शिव ओखेलीको शब्द रहेको उक्त गीतमा संगीत संयोजन चर्चित सर्जक बाबु कृष्ण परियारले गरेका छन्। गीतमा माया–प्रेमका भाव, गाउँले परिवेश र तीज पर्वसँग जोडिएको सांस्कृतिक रङ मिसाइएको छ।
गीतमा माइतीको माया, चेलीको चाहना, र तीजमा उपहार स्वरूप पठाइने कोसेलीको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। पंगेनी र रिमालको गायनले गीतलाई झनै जीवन्त बनाएको छ।
गायक पंगेनीले गीत दर्शक–श्रोताको मन जित्नेमा पूर्ण विश्वास व्यक्त गरेका छन्। उनले हालसम्म सामाजिक सञ्जालमा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको पनि बताएका छन्। दुईदिन अघि युटुब मार्फत सार्वजनिक गरिएको गीत अहिले सम्म ८५ हजारले हेरेका छन् । गीतमा म्याग्दीकी चर्चित मोडेल रविना भण्डारीको अभिनय रहेको छ ।
गीतका टुक्काहरु सामाजिक सञ्जाल टिकटकमा पनि निकै लोकप्रिय भएको छ ।