पर्यटन प्रवर्धनका लागि गाउँलेले बनाए २७ किलोमिटर पदमार्ग
विकल्प न्यूज/बेनी
साउन १४ गते ।

पर्यटन प्रवर्धनमा टेवा पु¥याउन दश वर्ष लगाएर श्रमदान र चन्दा सहयोग संकलन गरी स्थानीयहरुले २७ किलोमिटर पदमार्ग बनाएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित प्रशिद्ध धार्मिक पर्यटकीय स्थल खयरबाराही ताल पुग्न स्थानीयवासीहरुले पदमार्ग निर्माण गरेका हुन । खयरबाराही ताल नजिक प्रशिद्ध धार्मिक स्थल खयरभारानी थान रहेको छ । खयरबाराही ताल समुन्द्री सतह देखि करिब ४७ सय मिटर उचाईमा रहेको छ । पदमार्ग निर्माण गरेपछि खयरभारानी दर्शन गर्न जाने भक्तजन र पदयात्रीलाई सहज भएको छ ।
पाउद्धार गाउँ देखि सुरु हुने पदमार्गले पर्यटकीय स्थल खोप्रालेक हुँदै अन्नपूर्ण हिमालको फेँदीमा रहेको खयरबाराही ताल सम्म निर्माण गरिएको छ । पदमार्ग सुन्दर र आकर्षक छ । स्थानीयहरुका अनुसार पदमार्गमा अहिले सम्म एक करोड ७० लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको छ । आफन्तको सम्झना र स्मृतिमा गाउँलेहरुले पदमार्ग,चौतारी र खानेपानीका धाराहरु निर्माण गरेका छन् ।
खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्धार गाउँदेखि लरेनी–खोप्रा, खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्ग,चौतारी निर्माण र खानेपानीको सुविधा विस्तार गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक तथा यस क्षेत्रको पर्यटन प्रवर्धनमा विगत १५ वर्ष देखि जुट्नुभएका राजु पुनले बताउनुभयो ।
उहाँका अनुसार पाउद्धार र छिमेकी गाउँका तथा भक्तजनहरुले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेका छन् । उहाँले भन्नुभयो, ‘‘दशवर्ष पहिला हामीले चन्दा सहयोग संकलन गरेर पदमार्ग निर्माण थालेका थियौं । हाम्रो अभियानमा सबैको साथ सहयोग मिलेका कारण पदमार्ग बनाउन सफल भयौं ।’’
पुनको सक्रियतामा २०७२ देखि पाउद्धार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो । दश वर्षको अवधिमा पदमार्ग र चौतारी निर्माण गर्न ६७ जना भन्दा बढीले सहयोग गरेको उहाँले बताउनुभयो ।
सत्र जना दाताको सहयोगमा पाउद्धार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उहाँले बताउनुभयो ।
पदमार्गमा पदयात्रा गर्दा हिमश्रृङ्खलाको सुन्दर दृश्य,पहाडी रमणीय भूगोल,वनजंगल, र चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ । पाउद्धार देखि खोप्रा हुँदै खयरबराही ताल पुग्न दुईदिन सम्म पदयात्रा गर्नुपर्दछ ।
पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल खोप्रा र खयरबाराही ताल सम्मको पदयात्रा गर्न सहज भएको छ । स्थानीयहरुको प्रयासबाट निर्माण भएको पदमार्ग उदाहरणीय भएको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।
खयरबाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने र आटे, मागेको पूरा भएपछि बली चढाउने प्रचलन छ । पर्यटकीय सिजनमा खोप्रा–खयर क्षेत्रमा पदयात्रा गर्न आन्तरिक पर्यटकहरु आउने गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्