दरबाङ,साउन १० गते ।

म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक वर्ष २०८१र०८२ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहजिकरण र समन्वयमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिश्वचन्द्र ढकालले आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माण प्रगति ,सेवा प्रवाह र उपलब्धी विवरण प्रस्तुत गर्नुभएको थियो । गत वर्षमा गाउँपालिका र विषयगत शाखामार्फत कार्यसम्पादन भए गरेका कार्यक्रम तथा सञ्चालित योजनाहरुको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

वार्षिक प्रगति प्रतिवेदन अनुसार,आर्थिक वर्ष २०८१\०८२ को असार मसान्त सम्म चालुतर्फ कुल विनियोजित बजेट ३२ करोड ६१ हजार रुपैयाँ मध्ये २६ करोड ८८ लाख ८७ हजार ८ सय ८८ रुपैयाँ अर्थात ८४ दशमलव ०१ प्रतिशत खर्च भएको छ भने पुँजिगततर्फ कुल विनियोजित बजेट १८ करोड तीन लाख १५ हजार रुपैयाँ मध्ये ९ करोड ५१ लाख ४८ हजार २४० रुपैयाँ अर्थात ५२ दशमलव ७७ प्रतिश गरी कुल वार्षिक बजेट पचास करोड तीन लाख ७६ हजार रुपैयाँ मध्ये ३६ करोड ४० लाख ३६ हजार १२८ रुपैयाँ अर्थात ७२ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।
गाउँपालिकाले ७३ लाख ६२ हजार तीन सय तीन रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१र८२ मा एक सय ३० वटा योजनाहरु उपभोक्ता समिति र १७ वटा योजना तथा कार्यक्रमहरु विद्यालय व्यवस्थापन समिति मार्फत गरी भुक्तानी गरिएको छ । यसैगरी ३३ वटा नयाँ व्यवसाय दर्ता हुँदा १६ वटा व्यवसायहरु बन्द भएका छन् ।
गत आर्थिक वर्षमा न्यायिक समितिमा ८ वटा उजुरी परेकोमा सबै छलफल गरी फरछ्यौट भएका छन् । बीस जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाले ३ जनालाई ज्येष्ठ नाथरिक परिचयपत्र वितरण गरेको छ ।

नीजि आवास तथा पुननिर्माण कार्यक्रम अन्तर्गत १२ जना लाभग्राहीहरुले अन्तिम किस्ता ,२ जना लाभग्राहीले दोस्रो किस्ता र ६ जना लाभग्राहीहरुले सम्झौता प्रश्चात प्राप्त प्रथम किस्ता बापतको रकम सम्बन्धीत लाभग्राहीको खातामा जम्मा भएको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्र तर्फ १४ वटा योजनाहरु सम्पन्न भएका छन् । गत आथिक वर्षमा मात्र गाउँपालिकाबाट ३९ जना बसाइँसराई गरी गएका भने ८ जना मात्र आएका छन् । भने ४७ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् ।
कार्यक्रममा सहभागी यामबहादुर पुन,हिरा पुन ,तिलक ढकाल ,ओमबहादुर रोका ,सुर्मन गर्बुजा ,मालिका–६,का निवर्तमान वडा अध्यक्ष सन्तनाथ सुवेदी ,मालिका –४,का वडा सदस्य गर्भे गुरुङ ,पत्रकार प्रताप बानियाँ लगायतले विकास निर्माणलाई थप प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।
सहभागीहरुले मालिका र तमानखोला गाउँपालिकाको सिमाना सोले डाँडामा विवादका कारण निर्माण भएका संरचना तमानखोलाले भत्काइदिंदा उपभोक्ता समितिले भुक्तानी नपाएको ,गाउँपालिका भित्र उपभोक्ता समिति र ठेक्का मार्फत संचालित योजनाहरुको गुणस्तरमा धेरै फरक पाइएको ,उपभोक्ता समिति मार्फत निर्माण भएका योजनाहरुमा बजेट कटौती गरेको,दरबाङ बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने,यातायात क्षेत्रको भाडादर समायोजन गर्नुपर्ने ,योजना निर्माण सम्पन्न भएका योजनाहरुको भुक्तानी पाउन ढिलाइ भएको ,सार्वजनिक सुनुवाइमा न्युन सहभागिता ,वर्षातको समयमा बेनी–दरबाङ सडक पटकपटक अवरुद्ध हुँदा पनि गाउँपालिकाले चासो नदेखाएको,हेलिप्याड सम्बन्धी, प्रसिद्ध धार्मिक स्थल मालिका धुरी जाने सडक निर्माणको बारे , भाले बास्ने तालको विकास र प्रवद्र्धनमा जोड,गाउँपालिकाको प्रशासनिक जग्गा खरिद प्रक्रिया ,दरबाङ बजार भित्र सडक कालोपत्र योजना निर्माणमा ढिलासुस्ती भएको,वडा कार्यालय भवन निर्माण ,कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाहमा सन्तोषजनक नभएको गुनासो ,प्रश्न ,सुझाव र जिज्ञासा राखेका थिए ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,प्रमुख प्रशासकीय अधिकृत ढकाल र सिनियर सब इन्जिनियर दिपक सापकोटाले कार्यक्रममा उठेका सवालहरुकोजवाफ दिनुभएको थियो । गाउँपालिका अध्यक्ष गर्बुजाले शिक्षा,स्वास्थ्य ,खानेपानी ,सडक लगायत पुर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।
उहाँले जग्गा खरिद प्रक्रिया ,सडक निर्माण लगायत विकास निर्माणमा दुःख दिने र अल्झाउने नियतले बिनाप्रमाण पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने गरिएको भन्दै गुनासो पोख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत ढकाल र सिनियर सब इन्जिनियर सापकोटाले उपभोक्ता समितिलाई अनावश्यक दुःख नदिएको ,सोलेमा संरचना नभएको र प्रहरीले मुचुल्का नगरिएको कारण भुक्तानी नभएको , योजना कार्य प्रगतिको आधारमा बजेट कटौती गरिएको ,सार्वजनिक सुनुवाइमा सहभागिताको लागि सार्वजनिक सुचना लगायत विभिन्न माध्यमबाट खबर गरिएको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप सरल र सहज बनाउने बताउनुभयो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको पनि नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघको व्यवस्थापन तथा समन्वयमा भएको सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकारद्धय कृष्ण जिसी र साधन राम्जालीले गर्नुभएको थियो ।