ठाकुरप्रसाद आचार्य
माघ ९ गते ।
वैदेशिक रोजगारीमा डेढदशक विताउनुभएका धवलागिरी गाउँपालिका २ लम्सुङका भक्तबहादुर सिंकिजा पुनले गाउँ फर्किएर गाडी चलाउन थाल्नुभयो । पुनलाई अहिले गाउँमा भ्याइ नभ्याइ छ । दिनहुँ गाउँदेखि बेनी जाने यात्रु तथा सामान ओसार्न पुनले बोलेरो गाडी चलाउँनुहुन्छ । गाउँमा पुनले किराना पसल र होटल पनि संचालन गर्नुभएको छ । विदेशमा सिकेको सिप र कमाएको रकमलाई गाउँमा लगानी गर्नुभएका पुन समाजको उदारणीय बन्नुभएको छ ।
बहराइनमा सिकेको सिप र आर्जन गरेको पूँजीलाई स्वदेश फर्किएर गाउँमा लगानी गर्नुभएका पुनले मासिक रुपमा एकलाख पचास हजार रुपियाँ भन्दा बढी आम्दानी गर्नुहुन्छ । तिनवर्ष अघि वैदेशिक रोजगारीलाई बिट मारेर गाउँ फर्किनुभएका पुनले बोलेरो गाडी र पसलमा गरेर गरी करिब ५० लाख रुपियाँ भन्दा बढी लगानी गर्नुभएको छ । पुनको गाउँमा किराना पसल र सानो होटल पनि सञ्चालन गर्नुभएको छ ।
गाउँलेहरुलाई यातायात सेवा दिनुका साथै गाउँलेहरुका लागि आवश्यक पर्ने सबै सामानहरु होम डेलीभरी पनि गर्नुहुन्छ । विहन देखि बेलुका सम्म नै पुनलाई भ्याइनभ्याई छ । बेनी जान र फर्किनेहरुले पुनलाई नै सम्पर्क गर्दछन् । विदेशबाट गाउँ फर्किएर गाडी चलाउन थालेपछि गाउँलेहरु पनि खुसी छन् ।
मलाई त विदेशमा भन्दा गाउँमै रमाईलो लाग्न थाल्यो उहाँले भन्नुभयो, ‘‘गाउँका साथीभाई,इष्टमित्र र आफन्तहरुको सेवा गर्न पाउँदा खुसी लागेको छ । गाउँमै परिश्रम गर्नसक्ने हो भने यहाँ त पैसा नै पैसा रहेछ । मैले विदेशमा सिकेको सिप र आर्जन गरेको पैसालाई यहाँ लगानी गरेको छु । विदेशमा चर्को घाममा पसिना बगाउँदा मुस्किलले ५० देखि ८० हजार रुपियाँ कमाउँथे । यहाँ एक लाख देखि एकलाख पचास हजार रुपियाँ सम्म मासिक रुपमा कमाई हुन्छ ।’’ विदेशमा सिकेको सिप र कमाएको पैसालाई स्वदेश फर्किएर लगानी गर्न अन्य युवाहरुलाई पनि उहाँको अनुरोध छ । वि.स २०६३ मा वैदेशिक रोजगारीका लागि बहराइन पुग्दा पुनको हातमा कुनै सिप थिएन ।
त्यहाँ पुगेपछि पुनले ड्राइभिङ सिक्नुभयो । बहराइनमा गाडी चलाउन सिक्नुभएका पुनले अलि अलि पैसा पनि कमाएपछि गाउँमा फर्किएर केही गर्ने सोच बनाउनुभयो । गाउँमा सडक पुगेकाले गाडी किनेर चलाउँदा राम्रो हुन्छ भन्ने लागेर गाडी खरिद गरेको उहाँले बताउनुभयो ।
‘‘अरुको देशमा पसिना बगाएर कति वर्ष वस्ने ? विदेशमा सिकेको सिप र कमाएको पैसा गाउँमा फर्किएर लगानी गर्दा पक्कै पनि यहाँ भन्दा धेरै कमाउन सकिन्छ भन्ने मलाई लाग्यो,घरपरिवार सँगै पनि हुने,पैसा पनि कमाउन सकिने लागेर विदेशबाट गाउँ फर्किए, पुनले भन्नुभयो ।’ गाउँ फर्किएपछि गाडी खरिद गर्नुभएका पुनले गाउँमा किराना पसल र सानो होटल समेत खोल्नुभयो । गाउँ फर्किएपछि पुनको घरमा अहिले खुसियाली छ । परिवारबाट पनि पुनलाई साथ र सहयोग मिलेको छ ।
पुनले लम्सुङदेखि बेनी सम्म दैनिक गाडी कुदाइरहनुहुन्छ् । पुनले धवलागिरि गाउँपालिकाका ताकम,मुना,लुलाङ,मुदीका साथै गुर्जावासीलाई समेत सेवा दिनुहुन्छ । गाउँका आफन्त,साथीभाई र गाउँलेहरुलाई गाडीमा राखेर कुदाउँदा आनन्द मिल्ने रहेछ उहाँको भनाई छ ।
पुनका ३ छोरी र १ छोरा छन् । छोराछोरीलाई बेनीमा राखेर पढाउनु भएको छ । बाल्यकालमा आफूले राम्रोसँग पढ्न नपाएर दुःख पाएको ठान्ने पुनले छोराछोरीलाई बेनीमा राखेर विद्यालय र क्याम्पस पढाउनुभएको छ । ‘मैले धेरै पढ्न सकिन’,पुनले भन्नुभयो, ‘छोराछोरीलाई धेरै पढाउनुपर्छ भन्ने लागेको छ । उनीहरुले रोजेको विद्यालय,क्याम्पस र ठाउँमा राखेर पढाएको छु । अझै दश \पन्ध्र वर्ष गाडी चलाउन सक्ने भएकाले छोराछोरीलाई पढाईमा कुनै कुराको कमि हुन दिन्न ।’’
संघर्ष र परिश्रम गर्न सके यो पेशामा भविष्य राम्रो भएको उहाँको भनाई छ । अनुशासित हुनुप¥यो,बोलीचाली राम्रो भयो भने ड्राइभिङ पेशालाई पनिलाई सम्मानित बनाउन सकिने पुनले बताउनुभयो ।