पूर्व प्रधानमन्त्री देउवाद्धारा आठौं म्याग्दी महोत्सव उद्घाटन


ठाकुरप्रसाद आचार्य
म्याग्दी(बेनी) पुस २८ गते ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उद्योगमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गरेर मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


आइतबार बेनीमा आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुहुँदै सभापति देउवाले बर्तमान सरकार गठन भएसँगै देशमा उद्योग मैत्री वातावरण तयार हुँदै गएकाले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो ।

मुलुकको आर्थिक विकास र समृद्धिको लक्षय हासिल गर्नका लागि स्वदेशी उत्पादनको वृद्धि,उद्योग मैत्री कानून निर्माण र लगानी बढाउन सरकारले पहल गर्नुपर्ने उहाँको भनाई थियो । सभापति देउवाले उद्योग तथा व्यवसायमा निजी क्षेत्रले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।


म्याग्दी जिल्ला मुक्तिनाथको प्रवेशद्धार र कालिगण्डकी नदीको किनारमा रहेकाले यहाँ धार्मिक पर्यटनको ठूलो संभावना भएको बताउँदै उहाँले पर्यटन उद्योगमा निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाई थियो ।

जलविद्युत,पर्यटन र कृषि क्षेत्रमा संघ,प्रदेश र स्थानीय सरकारले निजी क्षेत्रसँग मिलेर लगानी गरे रोजगारी सिर्जना हुनुका साथै उत्पादनमा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । म्याग्दीमा रहेका आकर्षक पर्यटकीय स्थलहरु,प्राकृतिक स्रोतसाधन,कृषि,वनपैदावार,जलविद्युत र खनिज प्रदार्थ समृद्धिका आधारहरु भएकाले तिनै तहका सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

कालिगण्डकी कोरिडोर सडक अन्तर्गत निर्माणधिन मालढुङ्गा–बेनी सडक,निर्माणधिन बेनी अस्पताल भवन लगायतका अलपत्र परेका विकास योजनाहरुका वारेमा उहाँले सरकारलाई ध्यानकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विभिन्न कारणले जिल्लामा अलपत्र परेका विकास आयोजनाहरुलाई यथाशक्य चाँढो सम्पन्न गर्न सरकारसँग पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


जिल्लाको पर्यटन प्रवद्र्धन,कला संस्कृतिको संरक्षण,कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र अािर्थक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवको उद्घाटन कार्यक्रममा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यवसायीको पहिचान बनाउनुहुने विनोद कुँबर र कृषि क्षेत्रमा खोज अनुशन्धान गरी ख्यातीप्राप्त गर्नुहुने कृषि बैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।


महोत्सवको उद्घाटन कार्यक्रमा जिल्लाबाट संघ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि,जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले जिल्लाको विकासका लागि साझा प्रतिवद्धताको खाँचो रहेको विचार व्यक्त गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *