विकल्प न्यूज/बेनी
पुस २८ गते ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको १८ औं गाउँसभा आइतबार लामाखेतमा सम्पन्न भएको छ । पालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि स्विकृत भएका विभिन्न ३९ वटा योजनामा बजेट थपघट तथा रकमान्तर गरेको छ ।
सभाले विभिन्न विधेयक र ऐन पारित गरेको छ । सभामा पालिका अध्यक्ष आचार्यले चालु आर्थिक वर्षको साउन देखि पुस महिना सम्मको बजेट तथा योजना कार्यान्वयनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पालिका उपाध्यक्ष दिपक आचार्यले बजेट सम्सोधन सम्बन्धि प्रस्ताव पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि चालु शिर्षकमा ३६ करोड ७८ लाख ६१ हजार रुपियाँ विनियोजन भएकोमा हाल सम्म १३ करोड ४५ लाख ४७ हजार रुपियाँ खर्च भएको छ ।
पूँजीगत तर्फ १३ करोड ४५ लाख ५२ हजार विनियोजन भएको मध्य हाल सम्म दुई करोड १२ लाख पाँच हजार रुपियाँ खर्च भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७५ लाख २५ हजार रुपियाँ राजस्व संकलन भएको उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
गाउँसभामा पालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म एकसय ६० जनाले निशुल्क,एकसय ३३ जनाले सशूल्क सेवा लिएका छन् । यो अवधिमा एम्बुलेन्स प्रयोगकर्ताबाट चार लाख ७७ हजार रुपियाँ आम्दानी भएको छ ।
सभामा पालिका अध्यक्ष आचार्यले चालु आवमा विनियोजन भएका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई अनुरोध गर्नुभयो ।