ताजा समाचार:
Search

म्याग्दी महोत्सवको तयारी पूरा,आज उद्घाटन


म्याग्दी,पुस २८ गते ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार उद्घाटन गर्नुहुने आठौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ ।


निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सदरमुकाम बेनीमा आजदेखि आगामी माघ ८ गते सम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पुरा भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको समुदघाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा केहीबेरमा म्याग्दी आउनुहुने भएको छ ।


उहाँले भन्नुभयो, ‘‘महोत्सवको सबै तयारी पुरा भएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज महोत्सवको समुदघाटन गर्ने तयारी गरेका छौं । म्याग्दीवासीहरु पाहुनालाई स्वागत आतुर छन् । महोत्सवलाई सफल पार्न सबैको साथ र सहयोग मिल्ने विश्वास गरेका छौं ।’’महोत्सव उद्घाटन पूर्व बजारमा विभिन्न जातजातिका मौलिक कलासंस्कृति,भेषभूषा,झाँकी र बाजागाजा सहित ¥याली निकाल्ने तयारी गरिएको छ ।


महोत्सव सञ्चालन हुने बेनी स्थित खुलामञ्चमा मञ्च व्यवस्थापन, स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको म्याग्दी बाणिज्य संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो । महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई तोरना टाँगेर झिलिमिली बनाईएको छ । बजारलाई सरसफाई गरेर चिटिक्क पारिएको छ ।


महोत्सव स्थलमा जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीलाई विक्री वितरण तथा प्रचार प्रसारका लागि प्रदर्शनीमा राख्न निशुल्क स्टलको व्यवस्था गरिएको छ ।


महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धि स्थानीय उत्पादनका सामाग्री विक्री र प्रदर्शनीमा राखिने छ । महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।


महोत्सवमा विद्यालयहरुको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागि समेत ७ वटा स्टल निशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुलाई सम्मान गरिने संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो ।


१० करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।


चर्चित राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती रहने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, खुला पुख्र्यौली नाच, भजन, लोकनृत्य, रत्यौलीलगायतका प्रतियोगितालाई समावेश गरिएको संघका प्रथम उपाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

त्यसैगरि गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगितामा,गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, साविक धौलागिरी अञ्चल स्तरीय बि लेभल पुरुष डबल व्याडमिण्टन प्रतियोगिता, छेलो फाल्ने लगायतका खेलकुद प्रतियोगिता समेत सञ्चालन हुने आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।