विकल्प न्यूज/बेनी
माघ ९ गते ।
निर्माणधिन मालढुङ्गा–बेनी सडक आयोजनाको मुख्य ठेकेदार आएपनि निर्माणमा ढिलासुस्ती भएको छ । म्याग्दी र पर्वतका सरोकारवालाहरुको दबाव पछि कार्यस्थलमा परिचालन भएको ठेकेदारले सडक निर्माणलाई तिव्रता दिन सकेको छैन । सिमित जनशक्ति र उपकरण परिचालन गरेर ठेक्कालाई धान्ने मात्र काम गरेको छ । निर्माणले गति नलिँदा मुख्य ठेकेदारले पनि योजना अलपत्र पार्ने जोखिम बढेको छ ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजना अन्तर्गत मालढुंगा–बेनी सडकमा यात्रुलाई सास्ती भएको छ । १३ किलोमिटर लामो मालढुंगा–बेनी सडकमा यात्रा गर्न घण्टौं समय बिताउनुपर्ने बाध्यता रहेको छ ।
कतै धुलाम्य र कतै हिलाम्य, खाल्डाखुल्डी परेको सडकमा सवारीसाधन सञ्चालन गर्नसमेत समस्या हुने गरेको चालकहरूको गुनासो छ । ३० महिनामा काम सम्पन्न गर्नेगरी विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको सडक अहिलेसम्म पनि पूरा हुन नसकेको हो । यो सडकखण्ड हँदै दैनिकजसो म्याग्दी, मुस्ताङ, पर्वतको जलजला गाउँपालिकामा यात्रा गर्ने सयौं सवारीसाधन र हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् ।
एपेक्स–खड्का–कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनले सडक निर्माण गर्न नसकेपछि गत वर्षको फागुनदेखि पुनः मुख्य ठेकेदार नै आएर काम सुरु गरेको भए पनि अझै पर्याप्त जनशक्ति परिचालन नगर्दा सडकले गति लिन सकेको छैन । अहिलेसम्म जम्मा दुई किलोमिटर सडक कालोपत्रे भएको छ भने झण्डै दुई किलोमिटर ढलान भएको छ । बाँकी नौ किलोमिटर खण्डमा कुनै पनि प्रगति नदेखिएको कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले जनाएको छ ।
ठेकेदारलाई पटक पटक समयमै काम सम्पन्न गर्न दबाब दिएको भए पनि आनाकानी गरेको आयोजनाका सबइन्जिनियर सोहनजंग कार्कीले बताए । कार्कीका अनुसार कुश्मा नगरपालिका–१ मालढुंगाको माझी बस्तीदेखि जलजला गाउँपालिका–८ खनियाँघाटसम्मको दुई किलोमिटर सडक कालोपत्रे भएको छ । खनियाघाटदेखि फर्सेसम्मको झण्डै दुई किलोमिटर सडक यसअघि नै ढलान भएको थियो ।
फर्सेदेखि बेनीसम्मको झण्डै नौ किलोमिटर खण्डमा सडक चक्ल्याउने, ग्यावियन जाली भर्ने, टेवा पर्खाल बनाउने, नाली निर्माणलगायतका कार्य भए पनि थोरै मजदुर राखेका कारण कामको गति बढ्न नसकेको उनले बताए । करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्रे गरिने आयोजनाले जनाएको छ । सडक सम्पन्न गर्न पाँचौ पटक थप गरिएको म्यादसमेत पुस मसान्तमा सकिएको छ ।
ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुंगा–बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । समयमै काम सम्पन्न गर्न पटकपटक दबाब दिएको भए पनि चार वर्ष बितिसक्दा समेत सडक सम्पन्न नभएको उनको गुनासो छ । अहिले सडक खण्डमा यात्रा गर्दा धुलो र हिलोले यात्रु तथा हिमालपारिको जिल्ला मुस्ताङ जाने पर्यटक सास्ती खेप्न बाध्य भएका छन् । अस्तव्यस्त सडकका कारण उक्त खण्डमा सवारी दुर्घटनासमेत बढ्दै गएका छन् ।