तरकारी खेतीमा जमेका पौरखी शर्मा दम्पती (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १२ गते ।

जलजला गाउँपालिका ७ धाइरिङ मिलनचोकका युवा किसान दीपक शर्माले व्यवसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अंगालेको निर्वाहमुखी परम्परागत कृषि पेशालाई व्यवसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्माले गाउँपालिकाकै नमूना किसानको परिचय बनाउनुभएको छ ।


हरेक विहान देखि अवेर शर्मा दम्पत्ती तरकारी खेतीको काममा व्यवस्त हुनुहुन्छ । शर्माको तरकारी खेतीमा पुग्दा शर्मा दम्पत्ती काममा व्यस्त हुनुहुन्थ्यो । दीपक र सीता दुबैजना लामाबगर स्थित तरकारी खेतीको गोडमेल गर्दै हुनुहुन्थयो । ३८ वर्षीय दीपकले कृषि पेशामा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने अनुभव सुनाउनुभयो ।


लामाबगर स्थित करिब ७ रोपनी खेत वार्षिक रुपमा एकलाख २० हजार रुपियाँ बुझाउने गरी जग्गा भाडामा लिनुभएका शर्मा दम्पत्तीले काक्रो,सिमी,बोडी,भेन्टी,लौका,करेला,घिरौला, र खुर्सानी लगायतका बेमौसमी तरकारी फलाउनुभएको छ । भाडाको र आफ्नो जग्गा गरेर शर्मा दम्पत्तीले अहिले १० रोपनी क्षेत्रफलमा ताजा तरकारी लगाउनुभएको छ । हिउँदका समयमा १५ रोपनी सम्ममा तरकारी लगाउने उहाँले बताउनुभयो ।


उत्पादन भएको ताजा तरकारी लिन बेनीका व्यवसायीहरु घरमै आउने उहाँले बताउनुभयो । बेमौसममा उत्पादन गर्नसकेमा बेनीका व्यवसायीहरु घरमै लिन आउनुहुन्छ उहाँले भन्नुभयो, ‘‘घरबाट नै तरकारी बिक्री भएपछि बजार लैजाने ढुवानी रकम र समयको बचत भयो । बजार पु¥याएर बिक्री गर्नुपर्ने झन्झट पनि भएन ।’’


दैनिक रुपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक रुपमा १२ देख १५ लाख रुपियाँ सम्मको तरकारी बिक्री गर्ने बताउनुहुन्छ । ‘‘कृषि पेशामा धेरै दुःख पनि छ,कमाई पनि छ । आफ्नै माटोमा पसिना बगाउन पाउँदा खुसी लाग्छ । विदेश जाने सोच राखेर राहधनी बनाएर तर कृषि पेशालाई छाडेर जान मन मानेन् ’’ शर्माले भन्नुभयो ।


मैले श्रीमानलाई विदेश जान दिइन यही माटोमा सँगै परिश्रम गरौं भने सीताले भन्नुभयो, ‘‘ छरछिमेकका साथीहरु विदेश गएको देखेर राहधानी बनाउनुभएको थियो । बाउबाजेले अंगालेको कृषि पेशा हामीले छाड्नु हुन्न । कृषि पेशा गरे हामी दुबैजना सँगै हुन्छौं । विदेश जाँदा परिवारसँग छुटिनुपर्दछ । अहिले दुबैजना तरकारीमा रमाएका छौं,परिवार सबैजना खुसी छौं । यही माटोमा पसिना बगाएर जीवन धान्न सक्छौं भन्ने आत्मविश्वास जागेर आएको छ ।’’


आफूले अंगालेको कृषि पेशा छोरा बुहारीले निरन्तरता दिँदै अझै उन्नत तवरले गरेको देख्दा खुसी लागेको दिपकका बुबा दुर्गादत्त र आमा भद्रकली शर्माले बताउनुभयो ।

छरछिमेकका कतिपय घरहरुमा बृद्धबृद्धाहरु एक्लै घरमा छन् भद्रकलीले भन्नुभयो,‘‘आफूले सुरु गरेको कृषि पेशालाई व्यवसायिक बनाउँदै छोरा बुहारी कृषिमा रमाएको देख्दा मनमा सन्तोष मिलेको छ,यही नै हाम्रा लागि करोड बराबरको सम्पत्ती हो । विदेशमा गएर करोड कमाएको भन्दा बुढेसकालमा छोरा बुहारी साथमा रहेर दुःख सुखसँग घरमा बस्न पाउँदा यही नै ठूलो सम्पत्ती ठानेका छौं ।’’ खेतबारीको काममा सघाउन नसकेपनि घरभित्रको काममा सहयोग गरेर छोरा बुहारीलाई हौसला दिने गरेको उहाँले बताउनुभयो ।

बुबा आमाले गरेको निर्वाहमुखी कृषि पेशालाई दश वर्ष देखि यता व्यवसायिक रुपमा ताजा तरकारी उत्पादनमा लागेको दिपकले बताउनुभयो । हामीले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्थामा राम्रो सुधार आएको उहाँ बताउनुहुन्छ ।

तरकारी बिक्रीको रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च,औषधि उपचार र छरछिमेकलाई समस्या पर्दा सरसापट दिन सक्ने र केही रकम बचत समेत गर्ने गरेको उहाँले बताउनुभयो । बेला बखतमा सरकारी निकायबाट पाउने तालिम र अनुदानले हौसला मिलेको उहाँको भनाई छ । समाचार गोरखापत्र अनलाइनबाट साभार