पर्यटकीय गन्तब्य बन्दै रातोपानी तातोपानी कुण्ड

ठाकुरप्रसाद आचार्य
म्याग्दी,चैत १६ गते ।

कालिगण्डकी कोरिडोरमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ को रातोपानी स्थित तातोपानीको कुण्डलाई नदी कटानबाट संरक्षण र पूर्वाधार निर्माण गरेर स्नान गर्न सहज बनाएपछि पर्यटकहरु आउन थालेका छन् ।

नदी किनारमा पक्की पर्खाल निर्माण गरेपछि वर्षातका समयमा कालिगण्डकी नदीमा पानीको सतह बढेर कुण्डनै पुरिने र निर्माण गरिएका संरचना बगाएर लैजाने समस्या हटेको छ । गाउँपालिकाले तातोपानीको मुहान संरक्षण र पर्यटनमैत्री संरचना निर्माण गरेपछि कुण्ड स्नान गर्न आउने पर्यटकको संख्या बढन् थालेको कुण्ड संचालक खिलराज बरुवालले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि कुण्ड उपचार, स्नान र मनोरञ्जनस्थलका रूपमा विकास भएको वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।
तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल बनाइएको छ । रातोपानी संरक्षण र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले पछिल्लो पाँच वर्षयता ५० लाखभन्दा रुपियाँ बढी लगानी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

#वन डढेलो सम्बन्धि सन्देशमुलक विज्ञापन 


उहाँले भन्नुभयो, ‘‘पालिका भित्र रहेका तातोपानी कुण्डहरुको संरक्षण र संरचना निर्माण गरेर पर्यटक भिœयाउने लक्ष्य अनुसार सबै कुण्डहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौं ।’’

कालिगण्डकी कोरिडोर सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा संकलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०–१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी निर्माण गरिएको छ ।

कुण्ड संचालक बरुवालका अनुसार पर्यटनमैत्री संरचना बनेपछि कुण्डमा डुबुल्की मारेर उपचार गर्ने विरामी र जाडो याममा तातोपानीमा स्नान गरेर मनोरञ्जन लिने पर्यटकहरु आउने थालेका छन् । राउण्ड अन्नपूर्णको पदयात्रामा आएका पर्यटकहरु कुण्डमा स्नान गरेर मनोरञ्जन लिने गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले बरुवाललाई एकवर्षको अवधिमा एक लाख रुपियाँ राजस्व बुझाउने गरी कुण्ड संचालनको जिम्मेवारी दिएको छ । विरामी र पर्यटक गरेर दैनिक रुपमा एकसयको हारहारीमा कुण्डमा स्नान गर्न आउने गरेको बरुवालले जानकारी दिनुभयो ।

#सन्देशमुलक विज्ञापन 

चोट पटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा स्नान गरेर रोग निको भएर फर्किने गरेको उहाँले बताउनुभयो । पोखरा, काठमाडौँ, चितवन, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँबाट कुण्डमा स्नान गर्न आउने गरेको उहाँको भनाई छ । सात दिन स्नान गर्दा तीन सय ५० र एक पटक स्नान गर्न ३० रुपियाँ शुल्क तोकिएको छ ।

तातोपानीको पोखरी नजिकै कपडा फेर्ने ठाउँ, अर्को मुहानमा धारा र सार्वजनिक शौचालय निर्माण गर्न चालु आर्थिक वर्षमा गाउँपालिकाले आठ लाख रुपियाँ बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार भुरुङ तातोपानी कुण्डमा भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारको समपुरक अनुदान ५० लाख र पालिकाको ५० लाख गरी एककरोड रुपियाँ लागतमा पूर्वाधार निर्माण गरिने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा भुरुङ तातोपानी कुण्डबाट ५५ लाख,पाउद्धार तातोपानी कुण्डबाट २० लाख र रातोपानी तातोपानी कुण्डबाट एकलाख रुपियाँ गरी ७६ लाख रुपियाँ आन्तरिक आम्दानी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । तातोपानी कुण्डहरुलाई थप व्यवस्थित गरी आगमी वर्षहरुमा धेरै भन्दा धेरै पर्यटक भिœयाएर पालिकाको आन्तरिक आम्दानी बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।