आशा जगाउदै बेनीको प्रकाश माध्यमिक विद्यालय


ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ ११ गते ।

सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि,राम्रो व्यवस्थापन र पठनपाठनको शैलीमा सुधार गरेसँगै अभिभावकको रोजाईमा पर्न थालेको छ । विद्यालयले कक्षा ४ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन थाल्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि गरेपछि विद्यालयप्रति अभिभावकको आकर्षण बढेको हो ।


प्रकाश माविको प्रगति निजी विद्यालयका लागि टाउको दुखाई समेत भएको छ । निजी विद्यालयबाट वर्षेनी विद्यार्थीहरु प्रकाश माविमा भर्ना हुन आउछन् । बेनी आसपासका केही सरकारी स्कूलको शैक्षिक अवस्था उत्साहप्रद छैन । बेनी नगरपालिकाले हालै लिएको कक्षा ८ को नगर स्तरीय परीक्षाको नतिजालाई हेर्दा नगरका केही सरकारी स्कूलको अवस्था नाजुक देखिन्छ ।

#ADD


बेनी आसपासका सामुदायिक विद्यालयहरु संकटमा परेका बेला प्रकाश माविले भने समाजमा आशा जगाउन थालेको छ । विद्यालय व्यवस्थापन समिति,शिक्षक,कर्मचारी,विद्यालय प्रशासन र अभिभावकको इच्छाशक्ति भए सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्दो रहेछ भन्ने गतिलो उदाहरण प्रकाश माविले प्रस्तुत गरेको छ । जिल्लामै शैक्षिक केन्द्रका रुपमा प्रकाश मावि उदाउन थालेको छ ।


सामुदायिक विद्यालयको साखलाई जोगाउँदै विद्यालयले शैक्षिक क्षेत्रमा अब्बल सावित गरेको छ । पछिल्ला तीनवर्ष यता शैक्षिक गुणस्तरमा वृद्धि गरेसँगै अभिभावको रोजाईमा स्कूल पर्नथालेको हो । गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिको प्रयोग र सुदृढ व्यवस्थापनका कारण विद्यालयले स्थानीय तहमा मात्र नभई जिल्ला स्तरमै पहिचान बनाउन सफल भएको छ ।


अहिले प्रकाश माविमा निजी विद्यालयबाट विद्यार्थीहरु भर्ना हुन आउन थालेका छन् । सरकारी स्कूलको गरिमा उँचो बनाएको प्रकाश माविमा आफ्ना बालबालिका भर्ना गर्न अभिभावकहरु आकर्षित छन् ।


विद्यालयमा सुविधासम्पन्न बालविकास कक्षा देखि १२ सम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान विषय,मानविकी,व्यवस्थापन र शिक्षाशास्त्रमा अध्यापन गर्दै आएको छ । विद्यालयमा हाल करिब एकहजार विद्यार्थीहरु अध्ययनरत छन् । भने ३९ जना भन्दा बढी दक्ष र अनुभवी शिक्षक तथा कर्मचारीहरु छन् । शिक्षक,कर्मचारी,विद्यालय व्यवस्थापन समिति र विद्यालयको प्रशासनीक नेतृत्वको टिम स्प्रिड मिलेका कारण विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्दै आएको हो ।


विद्यालयले डिजिटल कक्षा, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतका पूर्वाधारको विकासले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा नयाँ ऊर्जा थपेको सहायक प्रधानाध्यापक विनय श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘पछिल्ला तीनवर्ष यता विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिका कारण अभिभावको रोजाईको विद्यालय भएको छ । वर्षेनी निजी विद्यालय छाडेर यहाँ भर्ना हुनआउने संख्यामा वृद्धि भएको छ । विद्यालय व्यवस्थापन,शिक्षक,कर्मचारी र अभिभावको मेहनतका कारण अहिलेको उपलब्धि हासिल गर्न सफल भएका हौं ।’’


विद्यालयको पूर्वाधार विकास,जनशक्ति विकास,आर्थिक विकास र शैक्षिक विकास गरेर स्मार्ट स्कूलका रुपमा विकास गर्ने लक्षयसहित अघि बढेको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमाल बताउनुहुन्छ ।


प्रअ हमालले भन्नुभयो, “हामी गुणस्तरीय र व्यावहारिक शिक्षामार्फत विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने लक्षयसहित अगाडि बढिरहेका छौं । अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले नै विद्यालयलाई यो उचाइमा पु¥याएको हो ।” सामुदायिक विद्यालय पनि अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने उदाहरण प्रकाश माविले दिन सक्ने वातावरण तयार भएको उहाँको दावी छ ।
विद्यालयको आर्थिक विकास,व्यवस्थापन,विद्यालयको जग्गा व्यवस्थापन,शैक्षिक उपलब्धि,तथा अतिरिक्त क्रियाकलाप उपलब्धिको निरन्तरता,सामाजिक सम्बन्धको व्यवस्थापन जस्ता क्रियाकलापहरु चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो ।
शैक्षिक मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि प्रकाश माविको उपस्थिति उल्लेखनीय छ । खेलकुद, सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, बहस प्रतियोगिता लगायतका गतिविधिहरूमा विद्यालयले नियमित सहभागिता जनाउँदै आएको छ र आफूलाई अब्बल सावित गरेको छ । विद्यालयलाई जिल्लाकै शैक्षिक केन्द्रका रुपमा अगाडी बढाउन बजारवासीको पनि साथ र सहयोग मिलेको प्रअ हमालले बताउनुभयो ।


पछिल्लो समय शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिएका नयाँ शिक्षक,छरितो बन्दै गएको प्रशासन,अङ्ग्रेजी माध्यमको पढाई र खेलकुद लगायतका क्षेत्रमा प्राप्त सफलताहरुले स्कूललाई पुरानो गौरबको पुनर्जीवित भएको सन्देश दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरमा थप वृद्धि गर्दै अभिभावकको विश्वास जितेर जिल्लामै नमूना विद्यालयको रुपमा अगाडी बढाउने कार्ययोजना बनाएर व्यवस्थापन समितिले काम गरिरहेको छ । कुशल विद्यालय प्रशासक,उच्च योग्यता भएका शिक्षकहरु र कर्मचारीहरुका कारण विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको छ ।’’
सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भयो भने सामुदायिक विद्यालय पनि अब्बल बन्न सक्छ भन्ने उदाहरण प्रकाश माविले दिएको शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘प्रकाश माविले आफ्ना छोरछोरीलाई बोर्डिङ नै पढाउनुपर्दछ भन्ने अभिभावकको मनोविज्ञानलाई फेरिदिएको छ । कुशल व्यवस्थापन,प्रतिबद्ध शिक्षक र शैक्षिक वातावरण भएमा सरकारी स्कूल पनि अब्बल हुन्छन् भन्ने नमूना प्रकाश माविले दिएको छ ।’’ विद्यालयमा शैक्षिक वातावरण देखेर नै अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई निजी विद्यालयबाट झिकेर सरकारी स्कूलमा भर्ना गरेको उहाँको भनाई छ ।


विद्यालयमा बजारका प्रतिस्ठित व्यापारी,शिक्षक,कर्मचारीका छोराछोरीहरु समेत भर्ना हुन आउने गरेको विद्यालयका प्रअ हमालले बताउनुभयो । नयाँ शैक्षिक सत्र सुरु भएदेखि हाल सम्म विभिन्न कक्षाहरुमा गरेर एकसय २० जना भन्दा बढी नयाँ विद्यार्थीहरु भर्ना भइसकेको र यो संख्या अझै बढ्ने उहाँले बताउनुभयो ।


शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि विद्यालयले नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडी शिक्षक तालिम,शैक्षिक सामग्री निर्माण तालिम लगायतका क्रियाकलापलाई प्राथमिकता दिएको प्रअ हमालले बताउनुभयो ।


हरेक आन्तरिक परीक्षापछि कमजोर विद्यार्थीको सिकाई उपलब्धि वृद्धिका लागि अभिभावक सँग विद्यालयले अन्तरक्रिया गर्ने गरेको छ । अभिभावकसँग निरन्तर रुपमा जोडिनका लागि अभिभावक टोल समिति समेत गठन गरिएको छ ।


विद्यालयले लिने आन्तरिक परीक्षाबाट कमजोर विद्यार्थीको पहिचान गरेर अतिरिक्त कक्षा संचालन गर्ने गरिएको प्रअ हमालले बताउनुभयो । विद्यालयमा थप पूर्वाधार निर्माणको आवश्यकता रहेको उहाँको भनाई छ । ‘‘अहिलेको पूर्वाधारले नयाँ थप विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छैन । हामीसँग पूर्वाधार भए अझै धेरै विद्यार्थी भर्ना लिन सक्ने थियौं,’’उहाँले भन्नुभयो । राष्ट्रिय परीक्षा बोर्डले लिएको २०७८ को एसईईमा साविक धौलागिरि अञ्चलमा प्रथम र सामुदायिक विद्यालय तर्फ समग्रमा जिल्लामा द्धितीय स्थान हुन सफल भयो ।


सोही परीक्षामा सामुदायिक विद्यालय तर्फ छात्रा प्रथम हुन सफल भएको विद्यालयका प्रअ हमालले बताउनुभयो । उहाँका अनुसार २०७९ को एसईईमा ४ जिपिए सहित एकजना विद्यार्थी नेपाल प्रथम र २०८० को एसईईमा सामुदायिक विद्यालय तर्फ जिल्ला प्रथम र समग्रमा जिल्ला द्धितीय भएको थियो ।


यसैगरी बेनी नगरपालिकाले लिने आधारभूत तहको कक्षा ८ को नगर स्तरीय परीक्षामा अघिल्लो शैक्षिक सत्रमा सामुदायिक विद्यालय तर्फ प्रथम तथा समग्रमा द्धितीय र गत चैतमा संचालित परीक्षामा सदिक्षा सुवेदीले ३.९७ जिपिए ल्याएर नगरमा प्रथम स्थान हासिल गनर््ुभयो ।


विद्यालयका चारवटा सुविधासम्पन्न भवनहरुमा ४० वटा कक्षा कोठाहरु रहेका छन् । भने ८ वटा व्यवसायिक सटरहरु छन् । विद्यालयमा सुविधासम्पन्न पुस्तकालय,कम्प्युटर प्रयोगशाला,स्टिम ल्याब,फिजिक्स ल्याब,केमेष्ट्री ल्याब,बायोलोजी ल्याब तथा सभाहल छ ।


उहाँले भन्नुभयो, ‘‘यो जिल्लाकै अभिभावक स्कूल हो । हामीले यहाँ सहजै भर्ना गर्नुपर्दछ । विद्यालयले जेहेन्दार,दलित,जनजाति,अति गरिब,अपाङ्ग,अनाथ,अतिरिक्त क्रियाकलापमा उत्कृष्ट तथा अति दुर्गम वस्तीबाट कक्षा ११ र १२ मा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि दानदाताहरुको सहयोगमा स्थायी रुपमा छात्रवृत्ति कोषको समेत व्यवस्था गरेका छौं उक्त कोषबाट त्यस्ता विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं ।’’

तस्विरहरु ः ठाकुरप्रसाद आचार्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *