ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ ८ गते ।

बेनी नगरपालिकाले किसानहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान,सिप,प्रविधि र रोगकिराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला संचालन गरेको छ ।
चालु आर्थिक वर्षमा दश लाख पाँचास हजार रुपियाँ बजेट विनियोजन गरेर ७ वटा समुहका करिब दुईसय किसानलाई तरकारी खेती सम्बन्धि प्राविधिक ज्ञान,विषादीको प्रयोग,बाली लगाउने तरिका लगायतका व्यवहारिक तथा सैद्धान्तिक विषयमा दक्ष बनाई सक्षम किसान उत्पादन गर्ने उद्देश्यले कृषक पाठशाला संचालन गरिएको हो ।

समुह मार्फत संचालन हुने कृषक पाठशालामा बिउ लगाउने देखि फल टिपेर बजार लैजान अवधि सम्मका सम्पूर्ण प्राविधिक ज्ञानहरु सिकाएर कृषकलाई दक्ष बनाउने योजना रहेको बेनी नगरको कृषि शाखा अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो ।
आइपिएम कृषि पाठशाला संचालनका लागि प्रत्येक समुहलाई एकलाख पचास हजारका दरले रकम प्रदान गरिएको ढुङ्गानाले जानकारी दिनुभयो । कृषि पाठशाला संचालन गर्न आवश्यक पर्ने विउजिन र अन्य सामाग्री कृषि शाखाले नै उपलब्ध गराएको छ ।

वडा नम्बर १ र ४ मा गोलभेडा खेती, वडा नम्बर २ मा काउली खेती,३ मा अकबरे खुर्सानी खेती,वडा नम्बर ५ र ९ मा आलु खेती र वडा नम्बर ६ मा कोशेवाली सम्बन्धी कृषक पाठशाला संचालन गरिएको उहाँले जानकारी दिनुभयो । वडा नम्बर ५ र ९ मा संचालन भएको पाठशाला सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
#ADD

आइपिएम कृषक पाठशाला सहजकर्ताहरुले बाली लगाउने देखि फल टिप्ने सम्मका सम्पूर्ण सिप र प्रविधिका बारेमा सिकाउने कृषि शाखा अधिकृत ढुङ्गानाले बताउनुभयो । नगरका सातवटा समुहहरुमा हरिराम पौडेल,क्षेत्रबहादुर कटुवाल र सोवित शर्मा आइपिएम सहजकर्ताका रुपमा खटिनुभएको छ ।

कृषक पाठशाला मार्फत कृषकलाई मित्र र शुत्र जिव पहिचान गर्न सिकाएर स्थानीय रुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ कृषि उपज उत्पादन हुने वडा नम्बर ६ डम्बरा संचालन भएको आइपिएम कृषक पाठशालाका सहजकर्ता सोवित शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कृषक पाठशाला मार्फत खेतबारीमा बिउ लगाउने तरिका देखि,फल टिप्ने बेला सम्मका सम्पूर्ण ज्ञान सिकाउने गरेका छौं । बाली हेरेर १८ देखि २२ हप्ता सम्म कृषक पाठशाला संचालन हुन्छ । हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गर्दै आएका छौं ।’’ कृषि पाठशाला मार्फत फिल्डमै लगेर किसानलाई सिकाउने भएकाले यसबाट दक्ष किसान उत्पादन हुने उहाँले बताउनुभयो ।

पाठशाला मार्फत तीतेपाती, असुरो, खरानी, गाइभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौं कृषक पशुपति भण्डारी क्षेत्रीले भन्नुभयो, रासायनिक मल र विषादीका प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गरेका छौं ।’’
प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा खेती गरिएको उहाँले बताउनुभयो । एउटा पाठशालामा २० देखि २५ जना कृषक समूह सहभागी भएका छन् । डम्बराको समुहमा सहभागी सबैजना महिलाहरु हुनुहुन्छ ।

तरकारी उत्पादन सम्बन्धि ज्ञान सिप र प्राविधिक कुराहरु व्यवहारिक रुपमा सिक्न पाउँदा खुसी लागेको बेनी नगरपालिका ६ डम्बराकी कमला परियारले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘कृषक पाठशाला मार्फत बिउ लगाउने देखि गोडमेल गर्ने,सिमीमा थाक्रो हाल्ने तरिका,जैविक विषादी बनाएर प्रयोग गर्ने तरिका लगायतको सिप सिकेको छु । अब आफ्नै खेतबारीमा राम्रो तरिकाले तरकारी उत्पादन गर्न सक्ने भएकी छु ।’’ कृषि पाठशालाले व्यवसायिक कृषक बन्न सहयोग पुगेको उहाँले बताउनुभयो ।
डम्बरा स्थित आइपिएम कृषक पाठशालामा सहभागी भएका २२ जना महिलाहरुले अहिले सामुहिक रुपमा सिमी र मिटर बोडी उत्पादन गर्नुभएको छ । उत्पादन गरेको सिमीलाई महिलाहरुले बजार लगेर बिक्री समेत गरेको पशुपति भण्डारी क्षेत्रीले बताउनुभयो । gorkhapatra



