रघुगंगामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु


विकल्प न्यूज/बेनी
जेठ ९ गते ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । २७ जना जग्गादाताहरुले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी हुने बताउनुभयो ।

#ADD

उहाँका अनुसार २७ जना स्थानीयले निःशुल्क उपलब्ध गराउनुभएको २५ रोपनीमध्ये १४ रोपनी क्षेत्रफल जमिनमा प्रशासकीय भवन निर्माण हुन लागेको हो । अध्यक्ष भण्डारीले जग्गाधनीसँग मञ्जुरी लिएर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाड गरिएको बताउनुभयो । धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर करिब ६ रोपनी क्षेत्रफलमा आठ मिटर फराकिलो सडक बनाइएको छ भने बिचको जग्गा गाउँपालिकाको भवन बनाउन लागिएको हो ।

माथिल्लो र तल्लो भागको करिब ६ रोपनी जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । जग्गा व्यवस्थापन र विकास गर्न दुई करोड ५० लाख रुपियाँभन्दा बढी खर्च भएको छ । हाल बहुद्देश्यीय भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।

#add

गाउँपालिकाका सवइन्जिनियर कमलबहादुर चोखालका अनुसार गाउँपालिका केन्द्र वडा नम्बर ३ मौवाफाँटमा निर्माण हुने तीन तले भवनको कुल नौ करोड ४० लाख ४४ हजार रुपियाँ लागत रहेको छ । पहिलो चरणमा ढलानसहितको पहिलो तलाका लागि दुई करोड रुपियाँको ठेक्का आह्वान गरिएकोमा प्रतिस्पर्धाका क्रममा कम कबोलेको मातृभुमी डेभलपर्स एण्ड इन्जिनियरिङ्ग प्रालि काठमाडौँसँग गत वैशाख १० गते एक करोड ३१ लाख ९८ हजार रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यही असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ ।

भुँइ तलामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहितको ११ कोठा, दोस्रो तलामा उपाध्यक्षको कार्यकक्षसहितको ११ र तेस्रो तलामा सभाहलसहितको ३५ कोठे भवन निर्माण हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । gorkhapatra


Leave a Reply

Your email address will not be published. Required fields are marked *