आरोहणको ७५ वर्ष ः पाँचसय ३२ जना अन्नपूर्णको शिखरमा


ठाकुरप्रसाद आचार्य /बेनी
जेठ ७ गते ।


जेठो हिमालको उपाधि हासिल गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा स्वदेशी र विदेशी गरेर पाँचसय ३२ जनाले सफल आरोहण गरेका छन् ।
चालु वसन्तकालिनयाममा ६ समुहका ४९ पुरुष र १७ महिला गरी ६६ जनाले अनुमति लिएकोमा हाल सम्म ४४ जनाले सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले जानकारी दिनुभयो । पछिल्ला केही वर्ष यता अन्नपूर्ण आरोहण गर्ने आरोहीहरुको सख्यामा वृद्धि हुँदै जानथालेको उहाँले बताउनुभयो ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने उक्त हिमालमा सन् १९५० जुन ३ का दिन पहिलोपटक मानव पाइला परेको थियो । सफल आरोहण सँगै अन्नपूर्णले उबेला संसारभर चर्चा कमाएको थियो ।


फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।

म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरि साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला देखि भुस्केटमेला हुँदै आरोहीहरु अन्नपूर्ण प्र्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्वः तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।


हिमाल आरोहणको गौरबपूर्ण इतिहास भएको अन्नपूर्ण आरोहणको यही जेठ २० गते ७५ वर्ष पूरा हुँदै छ । हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण गाउँपालिकाले हीरक महोत्सव मनाउने तयारी थालेको छ । हिमाल आरोहणको गौरबमय इतिहास भएको अन्नपूर्णमा यसपाली सात दिनसम्म विविध कार्यक्रमका साथ हीरक महोत्सव मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।


गाउँपालिकाका अध्यक्ष पुनले भन्नुभयो, ‘‘हीरक महोत्सव मार्फत अन्नपूर्ण हिमालको विश्वव्यापी रुपमा प्रचारप्रसार गरेर गौरबपूर्ण इतिहास भएको अन्नपूर्णमा पर्यटक भिœयाउने हाम्रो उद्देश्य छ ।’’ गाउँपालिका अध्यक्ष पुनको संयोजकत्वमा हिरक महोत्सव मुल समारोह समिति गठन गरी महोत्सवको प्रचारप्रसार समेत थालिएको छ ।


आगामी जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो । महोत्सवले अन्नपूर्णको प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


महोत्सवको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम समेत रहेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा अन्नपूर्ण हीरक महोत्सव मुल समारोह समितिका सदस्य तेजबहादुर गुरुङले बताउनुभयो ।

#ADD


महोत्सवका अवसरमा आधार शिविर सम्म पदयात्रा,ऐतिहासिक हिमाली उपकरण हस्तान्तरण,पुस्तक विमोचन,पुख्र्यौली नृत्य प्रस्तुती,म्याराथन प्रतियोगिता,शालिक अनावरण र खुल्ल सङ्ग्रहालय उद्घाटन लगायतका कार्यक्रमहरु आयोजना गरिने भएको छ । पहिलो आरोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोग सहित अन्य आरोहीहरु समेतलाई निमान्त्रणा गरिएको उहाँले बताउनुभयो ।


गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो,‘‘म्याग्दीको भूगोलमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस भव्य कार्यक्रमका साथमा आधार शिविरमा पुगेर मनाउँदै छौं । जेठो हिमाल समेत रहेको अन्नपूर्णलाई देश तथा विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री ओली, विभिन्न देशका राजदुतहरु,मौरिस हर्जोगका छोरा माथिएस हर्जोग,कम्तीमा दश जना आरोही,फ्रेन्च पत्रकार, विशिष्ट व्यक्तिहरु सहितको टोलीलाई आधार शिविरमा पु¥याउने तयारी छ ।’’ उक्त दिन फ्रान्सेली कलाकारहरुले आधार शिविरमै सांगेतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।


प्रधानमन्त्री ओलीबाट मौरिस हर्जोगले अंग्रेजीमा लेखेको ‘द अन्नपूर्ण’ लाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको किताबको पोखरामा विमोचन गरिने कार्यक्रम समेत रहेको पालिका अध्यक्ष पुनले बताउनुभयो ।

#ADD


पर्यटकको सहजताका लागि पदमार्गको हुमखोला देखि आधार शिविर सम्मको विभिन्न स्थानहरुमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधा सहितका होटल संचालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माणको काम अघि बढेको छ ।


अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *