ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ १४ गते ।
अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । पदयात्राका लागि उनीहरु नेपाल आइसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ अर्थात् जेठ २० दिन पहिलोपटक मानव पाइला परेको थियो । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा जेठ १६ देखि २१ सम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको छ । मौरिस हर्जोग पदमार्गमा जेठ १७ गते उनीहरुले पदयात्रा गर्ने हीरक महोत्सव मुल समारोह समितिका सदस्य एवम् मौरिस हर्जोग पदमार्गका अभियान्ता तेजबहादुर गुरुङले बताउनुभयो ।
नारच्याङको हुमखोला देखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर सम्म २१ किलोमिटर दूरीको पदमार्गमा जेठ १७ देखि २० गते सम्म पदयात्रा हुने उहाँले जानकारी दिनुभयो । पदयात्रामा सहभागी हुन हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन, नाति सिमोन ज्याक्युस,अनुसन्धानकर्ता,पर्वतारोहीसहित १४ सदस्यीय टोली काठमाडौं आइपुगेको पालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार माथिएसका छोरानाति,पत्रकार, लगायतको टोली पदयात्राको पहिलो दिन जेठ १७ मा नारच्याङ, हुमखोला हुँदै सम्धिखर्क पुग्नेछ । दोस्रो दिन जेठ १८ मा सम्धिखर्कबाट भुस्केट मेला हुँदै अन्नपूर्ण आधार शिविरमा बास बस्नेछ । तेस्रो दिन भुस्केटमा सांगीतिक कार्यक्रम, हर्जोगको योगदानबारे चर्चासहित कार्यक्रम हुनेछ ।
भोलिपल्ट जुन ३ अर्थात् जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गर्ने कार्यक्रम तय भएको पालिका अध्यक्ष पुनले बताउनुभयो । आधार शिविरमा आयोजित कार्यक्रम पछि प्रधानमन्त्री ओली नारच्याङको बेंसी गाउँमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।
#ADD

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हर्जोगले प्रयोग गरेको बाटोलाई गाउँपालिकाले उहाँको सम्मानमा मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार निर्माण गरेको छ ।
पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सख्ंयामा वृद्धि भएको छ ।