पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी
माघ २५ गते ।


म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले गरेका काम र आगमी योजनाका सन्दर्भमा ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी ः

यहाँले दुईपटक पालिकाको नेतृत्व गर्ने अवसर पाउनुभएको छ । गाउँपालिकामा निर्वाचित भएर आएपछिको प्रमुख कामहरू के के भए ?

पहिलो कार्यकालको महत्वपूर्ण काम भनेको हामीले विकट वस्ती दर्मिजा,चिमखोला,कुइनेमंगलेमा सडक पु¥याउने काम गरेका छौं । गाउँपालिकाको प्रशासकीय भवनका लागि जग्गा व्यवस्थापन निकै चुनौतीको विषय थियो । पालिका केन्द्र मौवापफाँटमा १४ रोपनी जमिनको व्यवस्थापन गर्न हामी सफल भयौं । विकट वस्तीहरुमा सामुदायिक स्वास्थ्य इकाई मार्फत सेवा प्रदान सुरु गरेका छौं । दुर्गमका विद्यालयहरुमा पूर्वाधार निर्माण गरेका छौं । पहिलो कार्यकालमा हामीले रघुगंगाको विकासको आधारशिला तयार पारेका छौं । अव दोस्रो कार्यकालमा जलविद्युत र पर्यटनको विकास गरेर पालिकालाई समृद्धि बनाउने लक्ष्य छ । त्यसतर्फ पालिका अग्रसर छ । सडकको ट्रयाक मात्र खोलेका छौं । सडक स्तरोन्नति गर्ने,हरियाली सडक निर्माण गर्ने अभियान पालिकाले संचालन गर्दै छ । अर्को महत्वपूर्ण पक्ष भनेको यस पालिका भित्र कतिपय स्थानमा अझै विद्युत सेवा पुगेको छैन । हामीले यसै आर्थिक वर्ष भित्र कुइनेमंगलेका साविक तीनवटा वडा वाहेक पालिकाका सवै वस्तीहरुमा विद्युत सेवा विस्तार हुन्छ । यसै आर्थिक वर्ष भित्र हामीले सवै वस्तीहरुमा सडक विस्तार पनि गर्दैछौं ।

रघुगंगाको विकास र समृद्धिका आधारहरु के के हुन ?

यहाँको विकास र समृद्धिका आधारहरु भनेको जलविद्युत र पर्यटन नै हो । रघुगंगा नदी र यसका सहायक नदीहरु जलविद्युत विकासका लागि उपयोगी छन् । अहिले पनि पाँचवटा जलविद्युत आयोजनाहरु निर्माणधिन छन् । ती केही वर्षभित्रमा निर्माण सम्पन्न हुनेछन् । थप तीनवटा जलविद्युत आयोजनाहरु प्रस्तावित छन् । धौलागिरी आइसफल र धौलागिरी सेन्चुरी आइसफल पर्यटनका महत्वपूर्ण क्षेत्र हुन । आन्तरिक र बाह्यै पर्यटक भिœयाउन एकसय ७३ दशमलब ५ किलोमिटर पदमार्ग बनाउन डिपिआर तयार पारेर कामलाई अगाडी बढाएका छौं ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा के कस्ता कामहरु भएका छन् ?

विकट वस्तीका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा दिन सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौं । पालिका स्तरीय अस्पताल निर्माणका लागि आवश्यक जग्गाको व्यवस्थापन गरेर निर्माण थाल्ने तयारी गरेका छौं । निजी स्रोतबाट संचालित विभिन्न विद्यालयहरुमा १२ वटा कम्प्युटर शिक्षक उपलब्ध गराएका छौं । बालशिक्षा सहजकर्ताको व्यवस्था गरेर बालशिक्षालाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गरेका छौं । दुर्गमका विद्यालयहरुमा भवन निर्माणलाई प्राथमिकतामा राखेका छौं ।

गाउँपालिकाले रोजगारी सिर्जना गर्न के कस्ता कामहरु गरेको छ ?

युवा र महिलाहरुलाई स्वरोजगारमुलक तालिमहरु सिलाई बुनाई,ड्राइभिङ,कुक,हाउसवाइरिङ,ब्युटिसियन तालिम,ढाका बुनाई,मुढा बनाउने लगायतका तालिमहरु संचालन गरेका छौं । यसका साथै पालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा स्थानीयलाई रोजगारी उपलब्ध गराउन समन्वय गरेका छौं ।

गाउँपालिकाको आन्तरिक आम्दानी के कस्तो छ ?

कालिगण्डकी नदीको बालुवा र ढुङ्गा निकाल्न सर्वोच्च अदालतबाट रोकिएपछि आन्तरिक आम्दानीमा कमी भएको छ । गत वर्ष पालिकाको आन्तरिक आम्दानी करिब एककरोड रुपियाँ थियो । पालिकामा निर्माणधिन जलविद्युत आयोजनाहरु सम्पन्न भएपछि मात्र विद्युत रोयल्टी प्राप्त हुन्छ । आन्तरिक आम्दानी बढाउन जडीबुटी पहिचान गर्ने काम थालेका छौं । जडीबुटीको प्रशोधन गर्ने योजना छ ।

गाउँपालिकाका ठुला आयोजनाहरु के के छन् ?

तीनवटा वडा कार्यालय भवन बनाउन थालेका छौं । कृषि प्राविधिक धार तर्फको पढाई हुने मुक्तिधाम मावि राँखुमा छात्रावास भवन निर्माण हुँदै छ । सडक तर्फ प्रदेशबाट घोप्टेखोलामा पक्की पुल निर्माण यसै आर्थिक वर्षमा सुरु हुन्छ । राखु बेग सडक स्तरोन्नति, मौवाफाट फुलबारी चौरेली टोल सडक योजनामा एककरोड रुपियाँ बिनियोजन भएको छ । वडा नम्बर ४ दर्मिजामा शिव आधारभूत विद्यालयको भवन निर्माणमा ५० लाख रुपियाँ विनियोजन भएको छ ।

पालिकामा खानेपानी र सिँचाई सुविधाको अवस्था के छ ?

खानेपानीको अभाव झेलीरहेको वडा नम्बर ७ चिमखोलाको वस्ती, वडा नम्बर २ र ३ को ठूलो वस्ती राँखु पिप्ले र भगवतीमा खानेपानीको अभाव छ । ६ वर्ष देखि योजना सुरु भएपनि संघीय सरकारले बजेट उपलब्ध नगराउँदा कार्यान्वनयमा जान सकेको छैन । बृहत चिमखोला राखु भगवती,पिप्ले र बृहत घोप्टेखोला खोनपानी योजनामा बजेटको समस्या छ । सिँचाई तर्फ बैसरी स्थित कालिगण्डकी नदीको पानी लिफ्टिङ प्रविधिबाट वडा नम्बर २ र ३ ल्याउने योजनाका लागि डिपिआर तयार पारेका छौं ।

कृषि पेसा तर्फ पालिकावासीलाई आकर्षीत गर्न के कस्ता कामहरु भएका छन् ?

पालिकामा माटो परिक्षण,डाँलेघाँसको विउ वितरण,कृषि उपकरण वितरणमा पचास प्रतिशत अनुदानको व्यवस्था गरेका छौं । कृषकलाई तालिम, बिउबिजन,च्याउखेतीमा अनुदानको व्यवस्था गरेका छौं । झीँको भिरकुना,वडा नम्बर ६ को आम्धी चिमखोलाको नामेला,कुइनेमंगलेको पात्लेर्खलाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादनमा जोड दिएका छौं । पिप्ले र भगवतीलाई धान र केरा पकेट क्षेत्र घोषणा गरेका छौं ।

गाउँपालिकाले प्रदेश र संघ सरकार सँग समन्वय गरेर के कस्ता योजनाहरु ल्याएका छौं ?

प्रदेश सरकारबाट हामीले आशा गरे अनुसार बजेट प्राप्त गरेका छैनौं । वार्षिक रुपमा मागहरु पेस गरेका छौं । तर बजेट प्राप्त हुँदैन । आवश्यकता र प्राथमिकताका आधारमा प्रदेश र संघ सरकारबाट योजना आउनुपर्ने हो त्यो छैन । प्रदेश र संघले पालिकासँग समन्वय नगरी योजना पठाउँदा कार्यान्वयनमा समस्या छ । बेनी नगरपालिकाको सिमाना देखी झीँ हुँदै पाखापानी सम्मको सडकका लागि एकवर्ष मात्र बजेट प्राप्त भयो । त्यतिखेर गण्डकी प्रदेशबाट योजना आएको थियो । अर्को वर्ष त्यो योजना हरायो । संघीय सरकारको बजेटबाट संचालित टोड्केमा निर्माणधिन उच्च स्थानमा खेलकुद मैदान अहिले अलपत्र परेको छ । एकवर्ष पैसा आयो त्यसपछि आउन छाड्यो । प्रदेश र संघका सरकार परिवर्तन हुँदा योजनाहरु परिवर्तन हुने कारणले स्थानीय तहलाई समस्या भएको छ ।

रघुगंगाबाट अरुले सिको गर्ने के कस्ता राम्रा कामहरु भएका छन् ?

बालविवाह न्यूनिकरणका लागि छोरी पेवा कार्यक्रम संचालन गरेका छौं । छोरी जन्मेपछि हामीले एकसय रुपियाँ र अभिभावकबाट एकसय रुपियाँ खातामा जम्मा गर्ने व्यवस्था मिलाएका छौं । यो रकम बिस वर्ष पुगेपछि मात्र निकाल्न मिल्छ । पालिाकले फजुल खर्चलाई रोक्न खादा प्रयोगलाई प्रतिबन्ध गरेका छौं । लालीगुँरास संरक्षण गर्न कसैले काटेमा त्यसको सूचना दिने व्यक्तिलाई पुरस्कार दिने र काट्नेलाई जरिवाना गर्ने नियम बनाएका छौं । कोभिड नियन्त्रणका समयमा आफूले प्रयोग गरेको निजी गाडीलाई समेत एम्बुलेन्सका रुपमा प्रयोग ग¥यौं । अघिल्लो कार्यकालमा मैले प्राप्त गरेको सेवा सुविधालाई गरिब विपन्नको स्वास्थ्य बिमा र शिक्षामा खर्च गरेको थिएँ ।

गाउँपालिकाका चुनौतीहरु के के छन् ?

पालिकाका कतिपय वस्तीहरु भौगोलिक रुपमा दुर्गम छन् । स्तरीय सडक सुविधा पु¥याउन निकै चुनौती छ । कृषिमा सिँचाईको अभाव छ । सातवर्ष देखि तीनवटा वडामा वडा सचिवको पद खाली छ । पालिकालाई संघ र प्रदेशबाट प्राप्त हुने बजेट एकदमै कम छ । पालिकामा विकास बजेट भनेको ८ देखि १० करोड रुपियाँ मात्र हुन्छ । यसबाट पालिकावासीहरुको मागलाई सम्बोधन गर्न निकै चुनौती छ । पालिकालाई प्रदेश र संघ सरकारले स्रोतसाधनको राम्रो व्यवस्थापन गरिदिने हो भने स्थानीय सरकारलाई जनताको घरदैलोको शिंहदरबारका रुपमा स्थापित गर्न सक्ने संभावना र अवसर पनि छ । साभारः गोरखापत्रबाट