विकल्प न्यूज/जलजला
बैशाख २१ गते ।
पर्वतको जलजला गाउँपालिकामा वडास्तरीय सामाजिक परिचालन सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकाको आयोजनामा रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी पालिकाका सवै वडामा सम्पन्न गरिएको हो ।
समुह मार्फत साझेदारी कोष कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वनयका लागि रुपान्तरणीय सामाजिक परिचालनका लागि सवै वडामा अभिमूखिकरण गोष्ठी सम्पन्न गरिएको गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले जानकारी दिनुभयो । उक्त कार्यक्रम सञ्चालन गर्न पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी ४० लाख रुपियाँ बजेट विनियोजन समेत गरेको छ ।
गोष्ठीमा प्रत्येक वडाका जनप्रतिनिधि,निवर्तमान वडा समितिका सदस्य,राजनीतिक दलका गाउँ समितिका प्रतिनिधिहरु,युवा क्लब,बालक्लव तथा महिला समुहका प्रतिनिधिहरु,सामाजिक व्यक्तिहरु र वडा स्थित सरकारी कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए ।
सामाजिक परिचालनको तर्फबाट उद्यमशिलता विकास गर्ने,पर्यटन व्यवसायलाई प्रभावकारी बनाउने,भौतिक पूर्वाधारका कामहरुमा गुणस्तर कायम गर्ने,कृषि तथा पशुपालनमा व्यवसायिकता अपनाएर उत्पादनमा आत्मनिर्भर कायम गर्ने तथा युवाहरुमा देखापर्दै आएको विदेश पलायनमा न्यूनिकरण एवम् ग्रामिण क्षेत्रका युवाहरुलाई रोजगारीका अवसर सिर्जना गरी सामाजिक परिचालनको मुलमत्रलाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
बैशाख ११ गते वडा नम्बर ९ वनौंबाट सुरु भएको अभिमूखिकरण गोष्ठी २१ गते विहिवार वडा नम्बर १ बासखर्कमा पुगेर समापन गरिएको पालिकाका सामाजिक विकास अधिकृत आचार्यले बताउनुभयो ।