कालीगण्डकी र शालिग्राम बचाउन बागलुङमा महोत्सव

विकल्प न्यूज/बागलुङ
बैशाख ११ गते ।

दोहनबाट कालीगण्डकी र शालिग्राम बचाउन महोत्सव गरिएको छ । सोमबारदेखि बागलुङमा महोत्सव सुरु भएको हो । विश्वमै शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी बचाउनुपर्ने सरोकारवालाको माग छ ।

कालीगण्डकीको रोदनलाई लोकगीत, भजन र काव्यमार्फत उजागर गर्ने र संरक्षणका लागि आवाज उठाउन महोत्सव गरिएको हो । नदीको पूजा गरेर कलस यात्रासहित सोमबार महोत्सव सुरु भएको हो ।

५ दिनसम्म चल्ने महोत्सवमा धार्मिक क्रियाकलापसहित हरेक गतिविधिमा कालीगण्डकीले दोहनविरुद्ध गरेको चित्कार, रोदनलाई उतार्ने प्रयास हुने अभियानका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । वैशाख १५ गतेसम्म आयोजना हुने महोत्सवमा नदीको महत्त्वबारे प्रचार गरिनेछ । सोमबार पनि साहित्यकारहरूले रचनामार्फत नदी संरक्षणको गाथा सुनाएका थिए । बागलुङ नगरपालिका ४ मा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र यहाँ निर्मित शालग्राम संग्रहालय व्यवस्थापन समितिले महोत्सव आयोजना गरेका थिए ।

नदी दोहन रोक्ने अदालतको आदेशविपरीत अझै पनि कालीगण्डकी दोहन भइरहेको छ । शालिग्राम संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउने लक्ष्य यो महोत्सवले लिएको आयोजक समितिका उपाध्यक्ष हरिप्रसाद शर्माले बताए ।

नदी संरक्षणका लागि २३ महिला समूहले लोकगीतका लागि नाम टिपाएका छन् । बागलुङमा ६ वर्षअघि स्थापित शालिग्राम संग्रहालयमा १ लाख १५ हजार शालिग्राम संग्रह गरिएको छ । कालीगण्डकीबाट ६ फिट अग्लो घडामा पानी भरेर सोमबार शोभायात्रा गरिएको थियो । साभारः इकान्तिपुरबाट