विकल्प न्यूज/बेनी
मंसिर १६ गते ।
पर्वतबाट प्रतिनिधिसभामा हालै मात्र निर्वाचित सांसद पदम गिरिले जिल्लाभित्र अवरुद्ध विकास आयोजनाहरु सुचारु गराउन पहल थाल्नुभएको छ । चार दिन अघि विकल्प न्यूजले राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा बेनी सडक योजनामा काम गर्ने ठेकेदारले काम छाडेपछि सडक अस्तव्यस्त भएको वारेमा समाचार प्रकाशित गरेको थियो । समाचार सार्वजनिक भएपछि सांसद गिरिले उक्त योजना सुचारु गराउन पहल थाल्नुभएको छ ।
विहिबार सडक विभागका प्रमुखसंग भेट गरी मालढुङ्गा बेनी लगायतका जिल्लामा सञ्चालीत तर निर्माण कार्यम अवरुद्ध भएका आयोजनाहरु सञ्चालनमा ल्याउन पहल गरेको सांसद गिरिले बताउनुभयो । मैले सडक विभागका प्रमुख सँग भेटेर ठेकेदारलाई तत्काल काममा फर्काउन भनेको छु उहाँले भन्नुभयो ‘दुईचार दिन भित्रै ठेकेदार काममा फर्किने विभागका प्रमुखले भन्नुभएको छ ।’
साथै सांसद गिरिले जिल्लाका अन्य योजनाका वारेमा पनि पहल थाल्नुभएको छ । प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको १ हप्ता भित्र नै गिरी जिल्लाको विकास विकासको काममा जुटेका हुन् । पहिलो कार्यकालमा सञ्चालनमा ल्याएका आयोजनाहरु निर्माण ब्यवसायीका कारण अवरुद्ध छन् । ति आयोजनाहरु सुचारु गरेर तत्काल निर्माण प्रक्रिया शुरु गरे ति आयोजनाहरु समयमा सकिन्छन् तर, निर्माण ब्यवसायी र सरकारी कार्यालयहरुका कारण आयोजनाहरु अहिले अवरुद्ध बनिरहेका छन् ।
सांसद गिरीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई विभागको कार्यालयमा नै भेट गरी आयोजनाको निर्माण कार्य शुरु गराउन निर्देशन दिनुभयो । उहाँले कालीगण्डकी लोकमार्ग अन्तर्गतको लमाएखोला–अर्मादी सडक, सोहि सडक खण्डको लमाएखोला मोटरेबल पुल, दुई जिल्ला बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी माथिको जैमिनिघाट मोटरेबल पुलको काम अगाडि बढाउन समेत निर्देश दिनुभएको छ । यी आयोजनाहरुको काम रोकिएको छ ।
सडक डिभिजन कार्यालयले ठेक्का आब्हान गरी निर्माण कार्य शुरु गरे पछि विगत ७ बर्ष देखि निर्माण कार्य नसकिएको भुरुङ्दी खोला मोटरेवल पुल अहिले पनि अलपत्र अवस्थामा छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको भुकदेराली जोड्ने उक्त पुल निर्माणको लागि गिरीले पुनः विभागको ध्यानाकर्षण गराएका छन् ।
गिरीले कालीगण्डकी करिडोर अन्तर्गत लुवा खोला र बाच्छा खोलामा पुल निर्माणका लागि तत्काल डिपिआर तयार गरि ठेक्का प्रक्रियामा लैजाने ब्यवस्था मिलाउन समेत कार्यालयलाई आग्रह गरे । निर्माण भएको लामो समयसम्म पनि मर्मतको अभावमा जिर्ण बन्दै गएको दोबिल्लामा मोटरेबल पुल निर्माणका लागि डिपिआर तयार गर्ने र ठेक्का प्रक्रियामा लैजाने काममा कार्यालयले तत्काल योनजा बनाउन गिरीले निर्देशन दिनुभएको छ । पर्वतको पूर्वी दक्षिणी क्षेत्र जोड्ने यो पुल जिर्ण हुँदा यहाँको सवारी आगमनमा समस्या पर्दै आइरहेको छ । गिरीले जलजला गाउँपालिकाको बगरफाँटमा कालिगण्डकी नदी माथि तत्काल बेलिवृज राख्ने प्रक्रिया अगाडि बढाउन समेत आग्रह गर्नुभएको छ ।
एमाले पर्वतका उप सचिव तथा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने सहित गिरी विभागमा पुगी जिल्लाको सडक तथा पुलहरुको कामलाई गति दिन पहल गर्नुभएको हो । गिरीले मोदी ६ गिज्यान क्षेत्रका लागि आवश्यक मोदी खोलामा मोटरेवल पुल तथा कुश्मा र ज्ञादी क्षेत्र जोड्ने झोप्रे बगर मोटरेवल पुल निर्माणको प्रक्रियाको विषयमा समेत चासो ब्यक्त गरेका थिए । गिरीले कल्लेरीघाट मोटरेवल पुल निर्माण गरी बागलुङ र पर्वतको दुरी छोटाउने कार्यलाई पनि योजनागत रुपमा अघि बढाउन विभागसंग अनुरोध गर्नुभयो ।
निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने कार्यक्रमलाई स्थगीत गरी गिरी अवरुद्ध आयोजनाहरुको विषयमा ध्यानाकर्षण गराउन काठमाण्डौं पुग्नुभएको थियो ।