जलजला ७ धाइरिङमा एमालेको चुनावी अभियान सुरु

विकल्प न्यूज\बेनी
चैत २२ गते ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा नेकपा एमालेले चुनावी अभियान थालेको छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले वडा कमिटीले मंगलबार निर्वाचन लक्षित कार्यक्रम सञ्चालनका लागि मिलनचोकमा वडा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष बेदनाथ आचार्यले बताउनुभयो ।

निर्वाचनलाई लक्षित गरेर एमालेले मंगलबार पार्टी कार्यालय स्थापना गरी चुनावी अभियान सुरु गरेको वडा कमिटीका अध्यक्ष आचार्यले बताउनुभयो । पार्टी कार्यालयको उद्घाटन गर्नुहुँदै पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले जलजलामा यसपाली नेकपा एमाले विजयी हुने दावी गर्नुभयो । नेपाली काँग्रेसले नेतृत्व गरेको स्थानीय तह पूर्णरुपमा असफल भएकाले यसपाली जलजलावासीले एमालेलाई विजयी गराउने उहाँले बताउनुभयो ।

एमाले विरुद्ध जति दल मिलेर आएपनि उनीहरु पराजित हुने उहाँको भनाई थियो । आगमी स्थानीय तहको निर्वाचनमा एमालेले जितेमा जलजलामा विकास र समृद्धिको ढोका खोल्ने उहाँको भनाई थियो ।

यसैगरी जिल्ला कमिटीका सदस्य तथा प्रचार विभागका उपप्रमुख शिब आचार्यले पाँचदलीय गठबन्धनलाई एमालेले परास्त गर्ने दावी गर्नुभयो । देशभर एमालेको पक्षमा जनलहर सिर्जना भएकाले विपक्षी दलहरु आफ्नो अस्तित्वका लागि गठबन्धन गरेको उहाँको भनाई थियो ।

नेकपा एमाले जलजला कमिटीका उपसचिव विकास गिरी वडा कमिटीका पूर्व अध्यक्ष गोविन्द आचार्य र वरिष्ठ नेता तिलक आचार्य लगायतले आगमी स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउन अनुरोध गर्नुभयो । वडा कमिटीका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले गर्नुभएको थियो ।