जलजलाको सालिजा र लेकफाँटमा एमालेको वडा पार्टी कार्यालय स्थापना

विकल्प न्यूज\पर्वत
चैत २१ गते ।

नेपाल कम्युनिष्ट पार्टी एमाले  जलजला गाउँपालिका कमिटीले आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । वडा कमिटीको वैठक,कार्यालय स्थापना र टोलभेला तथा मतदाता भेटघाट लगायतका चुनावी कार्यक्रम लिएर एमाले गाउँगाउँ पुगेको छ ।

यसैक्रममा सोमबार जलजला गाउँपालिकाको वडा नम्बर ५ लेकफाँट र ६ सालिजामा वडा पार्टी कार्यालय स्थापना गरिएको छ । सालिजाको वडा पार्टी कार्यालयको उदघाटन गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद पदम गिरीले आगमी स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनलाई जनताले परास्त गरिदिने बताउनुभयो । भएरका दलहरु एमाले विरुद्ध गठबन्धन गरेर आएपनि जनताले उनीहरुलाई पराजित गरिदिने उहाँको भनाई थियो ।

एमाले सँग एक्लाएक्लै लड्न नसकेर पाँच दल मिलेर आउँदैछन् उहाँले भन्नुभयो ‘जनताको तागतले गठबन्धन सँग एक्लै चुनाव लडेर उनीहरुलाई परास्त गरिदिन्छौं ।’ सांसद गिरीले सालिजा र लेकफाँटका जनतासँग स्थानीय समस्याका वारेमा अन्तरक्रिया पनि गर्नुभएको छ ।

यसैगरी लेकफाँटमा पार्टी कार्यालय उद्घाटन गर्नुहुँदै नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य मेघनाथ सुवेदीले जनताका पक्षका काम गरेकाले स्थानीय तह निर्वाचनमा एमालेलाई जनताले विजयी गराउने दावी गर्नुभयो । एमाले विरुद्ध जति दल मिलेर आएपनि उनीहरुलाई परास्त गर्न एमाले सक्षम रहेको उहाँको भनाई थियो ।

यसैगरी सोमबार नै लेकफाँट र सालिजामा पार्टीका अगुवा कार्यकर्ताहरुलाई निर्वाचन लक्षित प्रशिक्षण दिइएको छ । कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु यज्ञ सुवेदी,नरबहादुर कार्की,जिल्ला कमिटिका सचिवालय सदस्य टुंगनाथ पौडेल,लोकनाथ रेग्मी,पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारी लगायत जिल्ला तथा पालिका कमिटीका सदस्यहरु र वडा कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यसअघि एमालेले जलजलाका १ वासखर्क, मल्लाझका २,३ र ४ नम्बर वडामा पार्टी कार्यालय स्थापना गरीसकेको छ ।