विकल्प न्यूज\बेनी
चैत १० गते ।
सदरमुकाम बेनी स्थित कोतघरको पुननिर्माण थालिएको छ । बेनी नगरपालिकाले पुरानै स्वरुपमा कोतघरको पुनःनिर्माण थालेको हो । बाइसेचौबिसे मल्ल राजाको पालामा निर्माण भएको कोत घर जिर्ण बनेको थियो । कोतघरको पुनःनिर्माण र आसपासको क्षेत्रलाई संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
बेनी नगरपालिकाको पर्यटन पूर्वाधार तर्फको ८ लाख रुपयाँबाट कोत घरको पुनःनिर्माण थालिएको बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।
कोतघर हाम्रो पुरानो सम्पदा भएकाले संरक्षण गर्न पुनःनिर्माण गर्न लागेका हौं बराइलीले भन्नुभयो ‘नगरपालिकाको ८ लाख र चन्दा सहयोग जुटाएर करिब १५ लाख रुपैयाँमा पुरानै स्वरुपमा कोतको पुनःनिर्माण गर्नेछौं ।’ कोतघर बेनीको एतिहासिक स्थल पनि भएकाले यसको संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास उद्देश्य रहेको उहाँले बताउनुभयो ।
कोतघर जिर्ण बनेर छानो चुहिने,भुईमा पानी जम्ने, र पखाल चिरा पर्न थालेकोले भत्काएर पुरानै स्वरुपमा थोरै मात्र परिवर्तन गरेर पुनःनिर्माण गर्न लागिएको वडाध्यक्ष बराइलीले बताउनुभयो । उहाँका अनुसार कोत घरमा रहेका एतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरी संरचना बनाइने छ ।
एतिहासिक महत्वका तोप,खुकुरी,तारबार लगायतका हतियार भएको कोतघर परिसरमा तत्कालिन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार राखेको भनाई छ ।
बेनीमा रहेको एतिहासिक कोतघरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणमा वडा कार्यालय जुटेको उहाँले बताउनुभयो । गत वर्ष कोतघर परिसरमा पूर्वधार निर्माण गरिएको थियो । कोतघरमा बडादशै र चैते दशैंमा पुजाआजा तथा बली चढाउने गरिन्छ ।