नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

४ जेठ, काठमाडौं ।

नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।

मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताउँछन् । ‘यो भेरियन्टले भारतमा जुन गतिमा संक्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ताको विषय हो ।’

के हो भारतीय भेरियन्ट ?

सामान्यतयाः भाइरसहरुले आफ्नोस्वरुप परिवर्तन गरिरहन्छन् । यसरी स्वरुप परिवर्तन गर्ने क्रममा पुरानो भाइरस नयाँ प्रकारको बन्छ । यसैलाई भेरियन्ट भनिन्छ ।

पहिलो पटक २०१९ मा भेटिएको कोरोना भाइरसको पनि विभिन्न भेरियन्टहरु भेटिएका छन् । बेलायतमा भेटिएको बी १.१.७ लाई यूके भेरियन्ट भनेर चिनिन्छ भने ब्राजिलमा पी.२ भेरियन्ट भेटिएको छ ।

भारतको महाराष्ट्रमा सन् २०२० को अक्टोबरमा पहिलोपटक बी.१.६१७ भेरियन्ट देखियो । मे १० मा डब्ल्यूएचओले बी.१.६१७ लाई ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा वर्गीकरण गरेको थियो ।

यद्यपि यस विषयमा धेरै अध्ययन भएको छैन । डब्ल्यूएचओको प्राविधिक क्षेत्रको नेतृत्व गरिरहेकी मारिया भान केर्खोभले भनेकी छिन्, ‘केही प्रारम्भिक अध्ययनको नतिजाले संक्रामकता बढाएको देखाएको छ ।’

बी.१.६१७ भेरियन्टभित्र पनि तीनओटो सिक्वेन्स देखिएको छ, जसलाई बी.१.६१७.१, बी.१.६१७.२ र बी.१.६१७.३ नाम दिइएको छ ।

पहिलो र दोस्रो सिक्वेन्सधेरै संक्रामक देखिएको छ भने तेस्रो सिक्वेन्स निकै कम मात्र पाइएको छ । संक्रामक देखिएका दुईमध्ये पनि बी.१.६१७.२ सबैभन्दा धेरैमा देखिएको छ ।