विकल्प न्यूज/बेनी
बैशाख २८ गते ।
पर्वतको जलजला गाउँपालिकाले जलजलाको वडा नम्बर २ र ३ मा कोरोना संक्रमण बढेपछि माझफाँट स्वास्थ्य चौकीमा १० बेड क्षमताको आइशोलेसन बनाउने भएको छ ।
मंगलबार लामाखेतमा बसेको गाउँकार्यापालिकाको वैठकले मल्लाजको माझफाँटमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएकाले संक्रमितलाई उपचारमा सहज बनाउन स्वास्थ्य चौकीमा आइशोलेसन बनाउने निर्णय गरेको हो । यसअघि वडा नम्बर ८ स्थित फर्सेमा २० शैया क्षमताको आइशोलेसन निर्माण गरी सञ्चालन गरेको छ ।
वैठकले संक्रमितको हेरचाह,एवम् व्यवस्थापन लागि जनप्रतिनिधि,कर्मचारी,शिक्षक,नागरिक समाज एवम् राजनीतिकर्मी,युवा क्लब,संघ संस्थालाई वडाको समन्वयमा परिचालन गर्ने र निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
कोरोना प्रकोपको व्यवस्थापनमा बजेटको अपुग हुननदिन कोरोना कोषमा बजेट थप गर्ने,आइशोलेसनमा जनशक्ति परिचालन गर्ने,कोरोना रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने लगायतका निर्णयहरु भएको पालिकाद्धारा जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ ।