जलजलामा कोरोना संक्रमण बढेपछि रोकथाम र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाइदै

विकल्प न्यूज/बेनी
बैशाख २५ गते ।

 उत्तरी पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमण बढेपछि गाउँपालिकाले रोकथाम र व्यवस्थापनलाई प्रभावकारी बनाउन थालेको छ ।

कोरोनाको संक्रमणको चेन ब्रैक गर्न लागू गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउने,पिसिआर परिक्षणको दायारा बढाउने र जनचेतनामुलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको हो । यहि विहिवार एकजना कोरोना संक्रमितको ज्यान गएपछि जलजलाले निषेधाज्ञा लागू गरेको थियो । जलजलाको पर्वत बेनी,माझफाँट,मिलनचोक र फट्के ढुङगा क्षेत्रमा कोरोनाको जोखिम उच्च छ ।

यी स्थानहरुमा कोरोना फैलिएको छ । विवाह,ब्रतबन्ध र अन्य धार्मिक कार्यहरुमा भएको जमघटले कोरोना संक्रमण फैलिएको हो । हाल ३५ जना सक्रिय संक्रमित भएको जलजलामा ६ जना अस्पतालमा उपचाररत र २९ जना होम आइसेलेशनमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमितलाई राख्नका लागि वडा नम्बर ८ स्थित फर्सेमा ६ वटा अक्सिजन बेढ सहित २० बेढ क्षमताको आइसोलेशन निर्माण गरिएको छ । विरामीलाई अस्पताल सम्म पु¥याउनका लागि एउटा जिप भाडामा लिएर तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्नुभएको पालिकाको गाडीलाई समेत आवश्यकता अनुसार परिचालन गरिएको छ । स्वाव संकलन र कोभिड रोकथाम तथा व्यवस्थापनमा समेत पालिकाको गाडी प्रयोग गरिएको उहाँले बताउनुभयो ।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु सहितको टोलीले समुदायस्रतमा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।