गिरफ्तारी दिन झाँक्री तयार, प्रहरी अधिकारीसँग कुरा हुँदै

विकल्प न्यूज/कामठमाण्डौं
माघ २९ गते ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू गिरफ्तारी दिन तयार रहेको बताएकी छन्।

प्रहरीले पक्राउ पुर्जी दिए आफू प्रहरी कार्यालय जान तयार रहेको उनले बताएकी हुन्। उनलाई पक्रन गएको प्रहरीका एक अधिकृतसँग अहिले उनले कुरा गरिरहेकी छन्। शंखमुलस्थित झाँक्री निवासअगाडि अहिले उनका समर्थकले नाराबाजी गरिरहेका छन् भने ठूलो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ।

‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’ लगायत नारा कार्यकर्ताले लगाइरहेका छन्। उनीहरूले प्रहरी दमन भएको भन्दैसमेत नाराबाजी गरिरहेका छन्।

झाँक्रीले एक साता अगाडि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी सम्बन्धी अभिव्यक्ति दिएकी थिइन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताएका थिए। ‘हामीले उहाँलाई बिहीबार बिहान १० बजे आउन भनेका छौं,’ थापाले सेतोपाटीसँग भने।

सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हुन्।  यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्। उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।  ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।  झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।

झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्। बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्।  मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ। setopati