लायन्स क्लब अफ बेनी सिटीद्धारा कपडा बैंकलाई सहयोग

विकल्प न्यूज/बेनी
पुस २० गते ।

म्याग्दीको बेनीमा रहेको लायन्स क्लब अफ बेनी सिटीले कपडा बैंकलाई सहयोग गरेको छ । गरिब तथा विपन्नहरुलाई लक्षित गरेर स्थापना गरिएको बैंकलाई क्लबले करिब २० हजार रुपियाँ बराबरका कपडाहरु सहयोग गरेको हो ।
बेनी नगरपालिका ६ नम्बर वडा कार्यालयले अथुङ्गेमा संचालन गरेको कपडा बैंकलाई शनिबार विभिन्न साइजका नयाँ फेन्सी कपडा सहयोग गरेको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष तुलसीनाथ सुवेदी(रामप्रसाद),उपाध्यक्ष महेन्द्र श्रेष्ठ,सचिव दुर्गा कँडेल र लायन्समा आवद्ध अंजित खान लगायतले अर्थुङ्गेमा पुगेर वडाध्यक्ष किष्णसिंह बानियाँलाई कपडा हस्तान्तरण गर्नुभएको थियो ।


क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार कपडा बैंकलाई सहयोग गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उहाँको भनाई छ ।


कपडा बैंकमा विभिन्न साइजका ज्याकेट, पाइन्ट, कमिज, जुत्ता, चप्पल लगायतका महिला पुरुष तथा बच्चाका लागि आवश्यक पर्ने कपडाहरु प्राप्त भएको वडाध्यक्ष बानियाँले जानकारी दिनुभयो । विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्थाहरुको सहयोगबाट कपडा बैंकमा कपडाहरु प्राप्त हुने र गरिब तथा विपन्नहरुलाई निशुल्क उपलब्ध गराउने गरिएको उहाँको भनाई छ ।


वडा कार्यालयले दुईवर्ष अघि गरिब तथा विपन्नहरुलाई लक्षित गरेर कपडा बैंक संचालनमा ल्याएको थियो । लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरेको वडाध्यक्ष बानियाँले बताउनुभयो ।


शनिबार पारेर महिनाको दुईपटक कपडा बैंक खोल्ने गरेको उहाँको भनाई थियो । कपडा बैंक संचालनमा आएपछि वडा भित्रका गरिब तथा अतिविपन्न परिवारलाई राहत मिलेको वडाध्यक्ष बानियाँको भनाई छ । चिसो मौसम सुरु भएकाले न्यानो कपडाहरु संकलन अभियान पनि संचालन गरिएको वडाध्यक्ष बानियाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *