प्रयोगबिहिन बन्यो अन्नपूर्णको पालिकास्तरीय अस्पताल भवन


ठाकुरप्रसाद आचार्य
म्याग्दी,पुस १८ गते ।

करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगबिहिन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको पालिकास्तीय अस्पताल भवन मेडिकल उपकरण,स्वास्थ्य जनशक्ति र अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा दुईवर्ष देखि प्रयोगविहिन बनेको हो ।


उसो त यो अस्पताल भवन बनाउने भौगोलिक हिसाबले पनि उपयुक्त थिएन । अस्पताल बनाउने स्थान छनौंटमा अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको अपरिपक्ता र दिर्घकालिन सोचको अभावका कारण पनि अस्पताल भवन अलपत्र पर्ने अवस्था आएको हो । धेरै ठूलो लगानी र जनशक्ति व्यवस्थापन गरेपनि पालिकाका सबै स्थानीयहरुले सेवा लिन अपायक पर्ने देखिन्छ । पालिका स्तरीय अस्पताल कालिगण्डकी कोरिडोर सडक आयोजनाको असापास,दाना,नारच्याङ,पोखरेबगर वा दोबाको तल्लो भेगमा बनाउन उपयुक्त हुन्थ्यो ।


कालिगण्डकी कोरिडोर बेनी–जोमसोम सडक देखि आधा घण्टाको दूरीमा रहेको यो स्थान पालिका स्तरीय अस्पताल संचालनका लागि उपयुक्त थिएन । अस्पतालका लागि आवश्यक जनशक्ति र पूर्वाधार तयार भएपनि अस्पताल संचालनका लागि स्थानका कारण समस्या हुने देखिएको छ ।


‘‘भवन मात्र ठडिएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने अन्य पूर्वाधारको अभाव छ । मेडिकल उपकरण खरिद गर्ने बजेट छैन्,’’ गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, ‘‘भवन मात्र बनाएर अस्पताल संचालन गर्न सकिदैन ।

अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति माग गर्न तीन पटक सम्म संघीय सरकारसँग पुग्यौं हाम्रो कुराको सुनुवाई भएन । हजुरको मात्र होइन देशभर यस्तै समस्या छ भनेर जवाफ पायौं । अस्पताल संचालनमा ल्याउन नसक्दा अहिले भवन अलपत्र जस्तै बनेको छ ।’’
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार २०७९ फागुनमा अस्पताल भवन निर्माण सम्पन्न भएको थियो । भवन बनेको लामो समय हुँदा पनि अस्पताल संचालनमा नआउँदा पालिकावासीहरु आधारभूत तहको स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।


५ करोड १२ लाख ६० हजार ६ सय ५२ रुपियाँ लागतमा अपाङ्गमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको थियो । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेका छन् । भवनको माथिल्लो तल्लाका तीनवटा कोठामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गरिएको छ ।


भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीले सम्झौता गाउँपालिका सँग सम्झौता गरी भवन निर्माण गरेको थियो । भवन निर्माण सम्पन्न भएपनि निर्माण व्यवसायीलाई केही रकम भुक्तानी गर्न बाँकी रहेको पालिकाको भनाई छ ।
आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गरी अस्पताल संचालनका लागि गाउँपालिकाले संघीय सरकारसँग माग गरेको पालिका अध्यक्ष पुनले बताउनुभयो । दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य एक करोड रुपियाँ भन्दा बढी छ ।


अस्पताल भवन निर्माण लागि नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । अस्पताल भवन निर्माणका लागि निशुल्क जग्गा दिएका जग्गादाताहरु अस्पताल भवन अलपत्र पर्दा दुःखी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *