विकल्प न्यूज/काठमाण्डौं
पुस ९ गते ।
नेकपा समर्थित म्याग्दी – काठमाण्डौं सम्पर्क मञ्च तत्कालका लागि नेकपाको कुनै समुहमा पनि नलाग्ने भएको छ । विहिवार काठमाण्डौंमा बसेको भेलाले नेकपा विभाजित भएर बनेको दुवै समहुमा नलाग्ने र एक ढिक्का हुने निर्णय गरेको हो ।
भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय गलत भएको ठहर समेत गरेको छ ।
विघटित प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापा र नेकपा जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ सहितको बसेको भेलामा नेकपा विभाजित भएर बनेका दुवै समुहमा तत्कालका लागि समावेश नहुने मञ्चले निर्णय गरेको हो ।
मुलुकको राजनीतिक र वस्तुगत परिस्थितिको मुल्याङ्कन गरेर मात्र आगमी दिनमा एकमतका साथ निर्णय लिने छलफल भएको मञ्चका पूर्व कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । ‘जिल्लाका नेता,कार्यकर्ता र जनभावना बुझेर मात्र मञ्च कता तिर लाग्ने भन्ने टुङ्गोमा पुग्छ,तत्कालका लागि हामी तटस्थ बस्छौं।’ उहाँले भन्नुभयो ।
भेलामा सहभागित करिब ४० जनाले नै एकमतका साथ जिल्लाका नेता तथा कार्यकर्ताको मनोभावना र राजीतिक परिस्थितिको गहन तरिकाले अध्ययन गरेर मात्र आगमी दिनमा कदम चालिने छलफल भएको मञ्चका पूर्व कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
थापा र श्रेष्ठले भेलामा सहभागि भएकाहरुलाई गहन रुपमा छलफल र सोचविचार गरेर मात्र निर्णय लिन अनुरोध गर्नुभएको । उहाँहरु दुवै जना अहिले तटस्थ बस्नुभएको छ । दुवै तर्फको भेलामा सहभागि हुनुभएको छैन ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि विभाजित बनेको नेकपामा यतिखेर नेता तथा कार्यकर्ताहरु एक अर्को समुहमा लाग्ने क्रम तिव्र बनेको छ । प्रचण्ड– माधब नेपाल समुहले नेतृत्व गरेको नेकपाको केन्द्रिय समितिमा बहुमत देखिएको छ । ओली पक्ष अल्पमतमा छ ।
सम्पर्क मञ्चमा आवद्ध भएका नेता तथा कार्यकर्ताहरु तत्कालका लागि कुनै पनि समुहमा नलाग्ने निर्णय गरेसँगै जिल्लामा ओली पक्षलाई ठूलो झट्का परेको छ । त्यसो त जिल्लामा ओली पक्ष कमजोर हुँदै जानथालेको प्रचण्ड माधव नेपाल समुहको दावी छ ।