पुनःनिर्माणले फेरिए म्याग्दीका सामुदायिक विद्यालय

विकल्प न्यूज/बेनी
पुस ८ गते ।


भूकम्पले क्षति पुगेका म्याग्दीका सामुदायिक विद्यालयहरु पुननिर्माण पछि चिटिक्क परेका छन् । २०७२ सालको भूकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरुको पुननिर्माण गरिएपछि विद्यालयको भौतिक संरचना सुरक्षित,सुविधा सम्पन्न,वातावरणमैत्री,सरसफाईमैत्री र अपाङ्ग मैत्री बनेका कारण पठनपाठनमा सहजता भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन शिक्षाका इकाईले तिन वर्षको अवधिमा ५५ वटा सामुदायिक विद्यालय भवन पुननिर्माण गरेको हो ।

२०७२ सालको भूकम्पका कारण क्षति पुगेका विद्यालयको पुननिर्माण अभियान अन्तर्गत २,३ र ४ कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको शिक्षा इकाईले जनाएको छ । अभियानका क्रममा विद्यालयमा शौचालय र खानेपानीको पनि निर्माण गरिएको छ ।
मापदण्ड विना निर्माण भएका कमजोर र जोखिमयुक्त भवनहरुलाई मापदण्ढ अनुसार बनेका बलियो र विपद् प्रतिरोधी भवनहरुले विस्थापित गरेपछि बालबालिका र अभिभावकहरु उत्साहित भएका छन् । गाउँमा सुविधासम्पन्न विद्यालय भवन पुननिर्माण भएपछि गाउँको नै स्वरुप बदलिएको छ । विद्यालय पुननिर्माण पछि विद्यार्थी संख्यामा पनि वृद्धि भएको विद्यालयहरुले जनाएका छन् ।

 


जिल्लामा अहिले सम्म ४ कोठे २४ वटा, ३ कोठे ९ वटा र २ कोठे २२ वटा विद्यालय भवन निर्माण गरिएको शिक्षा इकाईका प्रमुख तुलराज चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार, ४ कोठे ३७, २ कोठे १० र ३ कोठे ३ वटा गरि ५० वटा विद्यालय भवन निर्माणधिन अबस्थामा रहेका छन् ।

अहिलेसम्म निर्माण सम्पन्न भएका भवनमा १६७ वटा कक्षाकोठा छन् । भवन सहित शौचालय र खानेपानी निर्माणमा २८ करोड ५२ लाख २९ हजार २४५ खर्च भएको इकाईले जनाएको छ । त्यसैगरि नयाँ बन्ने ५० वटा भवनमा एकसय ७७ वटा कक्षाकोठा हुनेछन् । निर्माणधिन अबस्थामा रहेका भवन , शौचालय र खानेपानी योजनाको पूर्वाधार बनाउन ७ करोड ११ लाख २४ हजार पेश्की दिईएको र २८ करोड ४४ लाख ९६ हजार बजेट खर्च हुने अनुमान गरिएको इकाईका प्रमुख चौलागाईले जानकारी दिनुभयो ।

भुकम्प पछि विद्यालयको पुननिर्माणको लागि स्थापना गरिएको इकाई मार्फत अहिलेसम्म २२ वटा विद्यालयमा ३ कोठेका दरले शौचालय र २ वटामा खानेपानी सुविधाको लागि पूर्वाधार समेत निर्माण सम्पन्न भैसकेको छ । २८ वटा शौचालय र २५ वटा खानेपानी योजना निर्माणधिन अबस्थामा रहेको इकाईका इन्जिनियर विष्णु रिजालले जानकारी दिनुभयो । इकाई मार्फत ४ कोठे विद्यालय भवन निर्माणमा ७० लाख ४० हजार, ३ कोठे भवनलाई ३५ लाख ८० हजार, २ कोठे भवनलाई २३ लाख ९० हजार, शौचालय निर्माणमा १५ लाख र खानेपानी योजनालाई ७ लाख ४० हजार अनुदान उपलब्ध गराउने गरिएको छ ।

कोरोना भाइरसको महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण विद्यालय पुननिर्माण अभियानमा केही महिना असर परेपनि अहिले निर्माणको काम भइरहेको शिक्षा इकाईका प्रमुख चौलागाईले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति र प्रअ सँग सम्झौता गरी भवन,शौचालय र खानेपानीको योजना सम्पन्न गर्न बजेट उपलब्ध गराइएको उहाँले बताउनुभयो । गुणस्तरिय र छिटोछरितो काम गराउन नियमित अनुगमन र आबश्यक सहजीकरणमा जोड दिएको उहाँले बताउनुभयो ।

भुकम्प पछिको विद्यालय पुननिर्माण अभियान जिल्लाका लागि ठूलो अवसर भएकाले अवसरलाई सहि सदुपयोग गर्न सके शैक्षिक क्षेत्रको पूर्वाधार विकासले नयाँ स्वरुप लिने विद्यालय भवन पुननिर्माण सहजिकरण समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । विद्यालय भवन पुननिर्माण गर्ने यो ठूलो अवसर हो प्रमुख केसीले भन्नुभयो ‘अवसरलाई विद्यालय र अभिभावकले सहि सदुपयोग गर्नुपर्दछ ।’