आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितलाई जलजलाको १० हजार सहयोग

विकल्प न्यूज/जलजला
कार्तिक १७ गते ।

पर्वतको उत्तरी जलजला गाउँपालिकाले कोरोना संक्रमित भई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा १० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका गम्भिर प्रकृतिका कोरोना संक्रमितहरुको आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा गाउँपालिका तर्फबाट सहयोग पुगोस भनेर उक्त रकम सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

कोरोना संक्रमित हुँदैमा सहयोग पाइदैन उहाँले भन्नुभयो,‘संक्रमित भएर आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा मात्र गाउँपालिकाले उक्त रकम सहयोग गर्दछ ।’ कोरोनाका विरामीलाई थोरै भएपनि राहत मिलोस भनेर गाउँपालिकाले यस्तो खालको निर्णय गरेको उहाँको भनाई छ ।

पछिल्लो समय कोरोना संक्रमितको उपचार आफै गर्नुपर्ने संघिय सरकारको निर्णयले निराश भएका सर्वसाधरणलाई गाउँपालिकाको यो निर्णयले राहत मिल्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताउनुभयो । गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेपछि एक घर एक पिसिआर परिक्षण अभियान सञ्चालन समेत गरेको छ ।

गाउँपालिकाले कोरोना संक्रमणलाई न्यूनिकरण गर्नका लागि सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले पालिका भित्रका सवै वडाहरुमा पुगेर समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ ।

गाउँपालिका अध्यक्ष संक्रमति भएपछि गरिएको परिक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको थियो । संख्या बढ्न थालेपछि पालिका भित्र संक्रमणको थप अवस्थाको पहिचान गर्नका लागि ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।