विकल्प डेस्क ।
असोज१३गते। म्याग्दीमा एकपार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने गराउने होडबाजी सुरु भएको छ । निर्वाचन आउन करिब दुईवर्ष समय छ । तर पार्टी प्रवेशको होडबाजी चल्दा निर्वाचन नकिँदै छ भन्ने अनुभूति हुन थालेको छ । हुन त लोकतन्त्रको सुन्दर पक्ष भनेको दलहरुको सक्रियता हो । पार्टी संगठन निर्माण,विस्तार, कार्यक्रर्ता प्रशिक्षण, सदस्यता नविकरण भेला,वैठक र आगन्तुकलाई स्वागत यी सबै एउटा जिवन्त पार्टीमा हुने राजनीतिक क्रियाकलापहरु नै हुन ।
तर पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गर्नु राजनीतिक दलका लागि गम्भिर समिक्षाको विषय बन्नसक्नुपर्दछ । खास गरेर नेता तथा कार्यकर्ताले पार्टी परित्याग दुई कारणले गरेको देखिन्छ । पहिलो राजनीतिक सैद्धान्तीक रुपमा विचलित भएर दोस्रो पार्टीमा हेपिएर,च्यापिएर,कुनै अवसर नपाएर यस्तै अरु कारण हुनसक्छन् । सैद्धान्तीक रुपमा विचलितलाई दुइ भागमा हेर्न सकिन्छ । एउटा पार्टीनै सैद्धान्तीक रुपमा विचलित भई गलत बाटोमा हिडेपछि अर्को स्वयम नेता तथा कार्यकर्तामा नै सैद्धान्तीक विचलन आएपछि । तत्कालिन माओबादीका नेता वावुराम भट्राईलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । उनमा राजनीतिक सैद्धान्तीक विचलन आएपछि माओवादी छोडे ।
दोस्रो कारण पनि पार्टी छाड्ने प्रमुख कारण हो । वर्षौ देखिको पार्टीमा भएको लगानी,परिश्रम, त्याग,समर्पणलाई र योगदानलाई छाडेर पार्टी परित्याग गर्दछन् किन होला ? पार्टी भित्र गुट मौलाउनु,कार्यकर्ताको सम्मान नहुनु,सधै हेपिनु,च्यापिनु,योगदानको कदर नहुनु,क्षमता र दक्षता अनुसारको अवसर नपाउनु यस्तै यस्तै कारणहरु हुन्छन् ।
संसदीय प्रणालीमा भोटको महत्व ठूलो हुन्छ । थोरै भोटले पनि हारजित हुन्छ । त्यो तत्कालिन नेकपा एमालेले बेनी नगरपालिकाको मेयरको चुनावमा व्यहोरीसकेको छ । पार्टी भित्रको एकजना व्यक्तीले पनि भोटलाई प्रभावित पार्न सक्ने हिम्मत राख्छ । पछिल्लो समयमा म्याग्दीमा नेपाली काँग्रेस र नेकपामा पार्टी प्रवेशको होडबाजी चलेको छ ।
वर्षौ देखि एउटा पार्टीमा योगदान गरेकाहरु अर्को पार्टीमा प्रवेश गरेका छन् । नेकपाको बलियो संगठन भएको मंगला गाउँपालिकाका बलभद्र ढकाल करिब डेढ महिना अघि नेपाली काँग्रेसमा प्रवेश गरे । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले स्वागत गरे । ढकालको काँग्रेस प्रवेशलाई दुई अर्थमा हेर्न सकिन्छ । एउटा उनीमा राजनीतिक सैद्धान्तीक विचलन आयो, अर्को पार्टीमा उनी हेपिए,च्यापीए वा पार्टीले उनको योगदानको सम्मान नगरेका कारण भविष्य नदेखेर ।
वर्षौ देखि वामपन्थी आन्दोलनमा रहेका ढकाल एक्कासी काँग्रेस प्रवेशले नेकपा भित्र हलचल ल्यायो । काँग्रेसले अवको निर्वाचनमा नवप्रवेशी ढकाललाई प्रदेश २ (ख) बाट उम्मेदवार बनाउने चर्चा छ । जेहोस् ढकालको काँग्रेस प्रवेशले नेकपालाई क्षति पु¥याउन सक्छ । आफू कमजोर भएका स्थानहरुमा नेकपा भित्र रहेका अशन्तुष्टहरुलाई काँग्रेसले आफ्नो पार्टीमा भित्राउन कोशिस गरेको छ ।
ढकाल प्रवेश गरेको डेढमहिना पछि फेरी मंगलाकै अर्का नेकपा नेता रुद्र किसानलाई पनि काँग्रेसले प्रवेश गरायौं । किसान अनेरास्ववियू म्याग्दीका पूर्व अध्यक्ष समेत हुन । तत्कालिन नेकपा एमालेमा उनको योगदान ठूलो छ । राजनीतिक रुपमा भविष्य भएका तर पछिल्लो समय बाटो विराएर राजनीतिक भविष्यलाई अन्धारमा धकेलेका नेतामा किसान पर्दछन् ।
ढकाल र किसान काँग्रेस प्रवेशले नेकपालाई सांगठानीक रुपमा ठूलो क्षति त नहोला तर भोटको राजनीतिमा भने पक्कै क्षति पुग्नसक्छ । यी दुवै नेताहरु काँग्रेस प्रवेश गर्दा अन्य कार्यकताहरु प्छि लागेर गएनन् । बरु उल्टै ढकालकै गाउँपालिकाबाट नेकपाले १३ भदौंमा ठूलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराएर ढकाललाई पहिलो काउन्टर दियो ।
यस्तै सोमबार (असोज १२) मा मालिका गाउँपालिका ७ विमका काँग्रेस वडा समितिका सभापति सहित गाउँपालिकाबाट ८५ जना काँग्रेस कार्यकर्ताहरुलाई पार्टीमा भित्राएर ढकाल र किसानलाई दोस्रो काउन्टर दियो । म्याग्दीको पश्चिम भेगतिर नेकपा बलियो छ । नेकपा बलियो भएको क्षेत्रमा पसेर काँगेसले नेकपालाई चुनौती दिन थालेको छ । २ नम्बर क्षेत्रमा नेकपालाई कमजोर पार्न सकियो भने संसदीय निर्वाचन जित्न सकिने अनुमान काँग्रेसले गरेको छ । भने आफ्नो बलियो उपस्थितिलाई कायम राख्न नेकपाले कसरत गरेको छ । उता रघुगंगामा कमजोर नेकपा संगठन निर्माणमा कसरत गरेको देखिन्छ ।
अव ढकाल र किसानले नेकपाले दिएको काउन्टरको प्रतिकाउन्टर गर्ने क्षमता राख्छन वा राख्दैनन् त्यो भने हेर्न वाँकी छ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिएकाले आफ्नो प्रभाव देखाउन पनि अन्य पार्टीबाट कार्यकर्ता भित्राउन खोजिएको हुनसक्छ । पार्टी एकता र सत्ताका कारण नेकपा भित्र थुप्रै कार्यकताहरु असन्तुष्टी छन । यसैमा काँग्रेस खेल्न खोजेको छ । नेकपाको म्याग्दीमा बलियो संगठन छ । तर त्यो संगठन हिजोआज चलायमान छैन । नेकपाका मन्त्री,सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुप्रति कार्यकर्ताको असन्तुष्टी चुलिएको छ । यहि अवसरलाई काँग्रेसले छोप्न खोजेको छ ।
जेहोस पार्टी परित्याग गर्ने लहर चल्नु राम्रो होइन । यसले पार्टी भित्र राजनीतिक संस्कार नभएको पुष्टि गर्दछ । नेकपा र नेपाली काँग्रेस दुवैले गम्भिर समिक्षा गर्न आवश्यक छ । पार्टी भित्र रहेका नेता तथा कार्यकर्ताहरुको संरक्षण,त्यागको मुल्याङ्कन,योगदानको कदर, क्षमता अनुसारको जिम्मेवारी र अवसर नदिने र गुटगत गतिविधि मौलाउँदै जाने हो भने जति नै प्रवेश गराएपनि अन्तः यसले पार्टीलाई कमजोर बनाउँछ नै ।
पार्टीमा योगदान गरेका नेता तथा कार्यकर्ताहरुले भविष्य देख्न छाडेभने पार्टी परित्याग गर्दछन् । पार्टीमा रहेकाहरुमा पनि असन्तुष्टि चुलिन्छ । त्यसैले नेकपा र काँग्रेसका नेताहरुले यसलाई गम्भिर समिक्षाको विषय बनाउनुपर्ने देखिन्छ । भोटको राजनीतिमा सामान्य कार्यकर्ताको पनि पार्टी परित्यागले ठूलो अर्थ राख्दछ । काउन्टरको प्रतिकाउन्टर दिनुभन्दा पनि कार्यकर्ताले किन छोड्छन भनेर आ–आफ्नो पार्टी भित्र समिक्षा गर्नु उपयुक्त होला की !