झोलुङ्गे पुलले जोडिदै म्याग्दीका वस्तीहरु

विकल्प न्यूज/बेनी
असोज १२ गते । म्याग्दीका विकट वस्तीहरु झोलुङ्गे पुलले जोडिदै छन् । पछिल्ला केही वर्ष यता जिल्लामा झोलुङ्गे पुल निर्माणले प्राथमिकता पाएको छ ।
विभिन्न स्थानमा २६ वटा झोलुङ्गे पुल निर्माणधिन अवस्थामा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दी,झोलुङ्गे पुल सहयोग इकाई र पिपिएपी पोखराले जिल्लामा २६ वटा झोलुङ्गे पुल निर्माण गर्न लागेका हुन ।
झोलुङ्गे पुल सहयोग इकाई पोखरा मार्फत १५ वटा पुल निर्माणको चरणमा छन् । धबलागिरि गाउँपालिकामा ५,मालिकामा ५,रघुगंगामा ३ र अन्नपूर्णमा २ गरी १५ वटा पुल यसै आर्थिक वर्ष भित्र सक्ने गरी निर्माण भइरहेको सहयोग इकाई पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारीले बताउनुभयो ।
अगामी आर्थिक वर्षमा म्याग्दीमा २० वटा झोलुङ्गे पुल निर्माण गर्न सर्वेको चरणमा रहेको उहाँले बताउनुभयो । गत वर्ष मंगलाको काफलचौर कोत्रबाङ,बरंजाको जुगेपानी र बेनीको म्याग्दीको खोलामा पुल निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

यसै गरी पूर्वाधार विकास कार्यालय मार्फत ११ स्थानमा झोलुङ्गे पुल निर्माणधिन अवस्थामा छन् । कार्यालयका प्रशासन अधिकृत बाबुराम आचार्यले दिएको जानकारी अनुसार रघुगंगा चिम खोला झोलुङ्गे पुल,मंगलाको घोप्टेखोला,अन्नपूर्णको पाउँद्धारा तातोपानी थुरुङ खोला,मंगलाको सिमलचौर लिुलयाघाट,खोलाखर्क झोलुङ्गे पुल निर्माणधिन अवस्थामा छन् । यसै आर्थिक वर्ष भित्र निर्माण सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी रघुगंगाको बगरखोला,अन्नपूर्णमा सेतोपहरा सुवा दुवाडी,धौलागिरिको जापनीज वेश क्याम्प,खिबाङ बाँकोट देखि ताकम झाङ सम्म जोड्ने लामो पुल,बेनी नगरपालिकाको वडा नम्बर १ र ५ जोड्ने ठूलो खोला र ताराखोला झोलुङ्गे पुलको सर्वे भइ डिपिआर तयार गर्ने चरणमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।