कोरोनाका कारण पछिल्लो पटक थप ७ जनाको मृत्यु

भदौ २९, २०७७ काठमाडौं : 

कोरोना भाइरसको संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ।  धरान, जनकपुर र रुपन्देहीमा २÷२ तथा चितवनमा एक जनाको मृत्यु भएको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङको धनपाल गाउँपालिका ६ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। प्रतिष्ष्ठानमै मोरङ विराटनगर १२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ।

भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १७ गतेदेखि प्रतिष्ठानमा उपचाररत थिए।  यस्तै जनकपुरमा सिरहाको बन्दिपुरका ३२ वर्षीया महिला र महोत्तरीको लोहारपट्टी नगरपालिका–३ का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। सिरहाकी महिला ज्वरो आएर जनकपुरको काब्या अस्पताल भर्ना भएको र त्यहाँ पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो। उनको हिजो बेलुकी मृत्यु भएको प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर जामुन सिंहले जानकारी दिए। त्यस्तै महोत्तरीका ६० वर्षीय पुरुषको पनि हिजै मृत्यु भएको छ

यसैगरी रुपन्देही बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए।

रुपन्देहीकै भीम अस्पताल भैरहवामा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका–५ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति साढे १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिए । दमका बिरामी उनी भदौ २३ गतेदेखि अस्पतालको आइसियुमा उपचाररत थिए।

यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया महिलाको उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।