कोरोना परीक्षण रिपोर्ट गलत पनि आउँछ

भदौं २३ गते :लण्डन । 

के कोरोना भाइरस परीक्षणको नतिजा गलत पनि आउँछ ? वैज्ञानिकहरू नतिजा गलत पनि आउने बताउँछन्। एक अध्ययनका अनुसार यसको परीक्षण यति संवेदनशील छ कि शरीरमा मृत भाइरस वा यिनका टुक्रा पनि पाइन्छ, जसले कोरोना भाइरस संक्रमण पोजिटिभ देखाउँछ।

वैज्ञानिकहरू व्यक्तिमा एक सातासम्म भाइरस सक्रिय हुन्छ। तर त्यसको केही हप्तासम्म पनि कोरोनाको परीक्षण नतिजा पोजिटिभ आउन सक्छ। त्यसैले अनुमान गरिए भन्दा संक्रमित संख्याको आँकडा बढी देखिएको शोधकर्ताहरूले बताएका छन्। यसको मतलब हो– अहिलेसम्म कोरोनाको भरपर्दो परीक्षण विधि विकसित भइसकेको छैन।

यस कारण अब परीक्षण गर्दा भाइरसको निश्चित विन्दु पहिल्याई कम र बढी मात्रा देखाउने नयाँ प्रविधिको विकास गर्नुपर्ने शोधकर्ता प्राध्यापक कार्ल हेनेगनले बताएका छन्। उनका अनुसार यस्तो प्रविधिमा कम मात्रा भए नतिजा नेगेटिभ देखिन्छ।

प्राध्यापक हेनेगनले कोरोनाको परीक्षणमा पुरानो भाइरसका अंश वा टुक्रा पाइनुले संक्रमण किन लगातार बढिरहेको छ भन्ने कुरा बुझ्न मद्दत मिलेको बताउँछन्। यसै कारण अहिले अस्पताल पनि भरिएका छन्।

अक्सफोर्ड विश्वविद्यालयको सेन्टर अफ एभिडेन्स बेस्ड मेडिसिनले यसबारे २५ वटा पोजिटिभ नतिजा आएका प्रमाणको अध्ययन गरेको थियो।

अध्ययनका क्रममा परीक्षणको बेला भेटिएका भाइरसलाई ल्याबमा राखेर संख्या वृद्धि गरिरहेका छन् छैनन् भनेर हेरिएको थियो।

अध्ययनमा एक्टिभ भाइरसले आफ्नो संख्या बढाउने र जो मृत वा पुरानो भाइरसको टुक्रा पाइएको भाइरसले संख्या नबढाएको पाइयो। यस किसिमको अध्ययनलाई ‘भाइरल कल्चरिङ’ भनिन्छ।

कोभिड–१९ को परीक्षण कसरी हुन्छ ?

कोभिड–१९ को परीक्षणको पीसीआर विधिमा केमिकलको प्रयोग गरी संकलित स्वाब नमुनामा भाइरसको जेनेटिक मेटरियलको पहिचान गर्ने कोसिस गरिन्छ। त्यसपछि यसको अध्ययन गरिन्छ।

पर्याप्त भाइरस पाउनु पहिले ल्याबमा परीक्षण नमुनाको कयौँ चक्र पूरा गर्नुपर्छ। कति पटकमा भाइरस देखिन्छ भन्ने कुराले शरीरमा कति मात्रामा भाइरस छ भन्ने कुरा थाहा हुन्छ। साथै भाइरसको अंश छ वा पूरै भाइरस छ भन्ने कुरा यसले देखाउँछ।

गलत परीक्षण नतिजाको जोखिम
कोरोना भाइरसको परीक्षण नतिजा पोजिटिभ वा नेगेटिभ भनेर आउँछ। परीक्षण गरिएको नमुनामा कति भाइरस छ वा कति एक्टिभ संक्रामक भाइरस छ वा छैन भनेर थाहा हुँदैन।

जुन व्यक्तिमा एक्टिभ भाइरस भेटिन्छ अनि जसको नमुनामा मृत भाइरस वा यसका टुक्रा पाइन्छ दुवैको नतिजा पोजिटिभ आउँछ। प्राध्यापक हेनेगनका अनुसार परीक्षण गरिएको नमुनामा एक्टिभ भाइरस भेटियो कि हैन भनेर पत्ता लगाउन सम्भव छैन।

यस्तोमा वैज्ञानिक परीक्षण विधि प्रयोग गरी एक विन्दु कायम गरेर भाइरसको परीक्षण गर्दा नतिजा गलत आउने मात्रा कम गर्न सकिने उनी बताउँछन्।

यसले पहिले नै संक्रमित भएर आफैँ निको भएकाको नतिजा पोजिटिभ देखाउन कम हुन्छ। जसबाट कुल संक्रमित संख्यामा पनि गिरावट आउँछ।

साथै यसले परीक्षणपछि आफूलाई (रिपोर्ट पोजिटिभ आउने तर वास्तवमा नेगेटिभ भएका) क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताबाट मुक्त गराउने प्राध्यापक हेनेगनको विश्वास छ। यसले संक्रमितको वास्तविक आँकडा र स्थिति बुझ्नमा पनि मद्दत मिल्छ।

कारोना भाइरस परीक्षणको सही नतिजा भाइरस कल्चरिङबाट प्राप्त हुने पब्लिक हेल्थ इङ्ल्यान्डको विश्वास रहेको छ। संगठनका अनुसार उसले विभिन्न ल्याबसँग मिलेर कट–अफ विन्दु निर्धारणका लागि विश्लेषण भइरहेको छ।

कोरोनाको परीक्षणका लागि विभिन्न किसिमका किटको प्रयोग भएका छन्।

अलग तरिकाबाट तिनले नतिजा दिने भएकाले कट–अफ विन्दु निश्चित गर्न समस्या भएको संगठनले बताएको छ। तर यूनिभर्सिटी अफ रिडिङका प्राध्यापक बेन न्यूमेनले नमुनाको कल्चरिङ गर्न कुनै ‘सानो कार्य’ नभएको बताएका छन्।

त्यस्तै महामारी विशेषज्ञ प्राध्यापक फ्रान्सेस्को वेन्टुरेलीका अनुसार कोरोना संक्रमण भएको कति दिनसम्म संक्रामक भाइरस रहन्छ भन्ने कुरा स्पष्ट र निश्चित छैन।

उनले कल्चरिङ गरेर भएका केही अध्ययनले करिब १० दिनसम्ममा निको भएका व्यक्तिमा त्यसको ८ दिनपछि पनि भाइरस पाएको देखाएको बताएका छन्।
(बीबीसीबाट)