२ करोड लगानीमा पर्वतमा कालिज पालन

विकल्प न्यूज/पर्वत
भदौं १५ गते ।

पर्वतको कुस्मा नगरपालिका ८ पराधीका मनोज कुमार पौडेलको कुश्मामा हार्डवयर पसल छ । हार्डवयर पसलका साथै कृषि क्षेत्रमा लगानी गर्ने रुचि जागेपछि डेढ वर्ष अघि करिब दुइकरोड रुपियाँ लगानी गरेर कालिज पालन सुरु गर्नुभएको हो ।

बजारमा कालिजको मासुको माग बढ्न थालेपछि किसानहरुको रोजाईमा कालिजपालन पर्न थालेको छ । कालिज पाल्नका लागि १२ रोपनी जमिनमा मनोजले खोर निर्माण गर्नुभएको छ । एमसी वाइल्ड लाइफ एग्रो एण्ड रिसर्च सेन्टर फर्म मार्फत व्यवसायिक रुपमा पौडेलले कालिजपालन सुरु गर्नुभएको हो ।

नयाँ व्यवसाय सुरु गरौं भन्ने सोच आयो मनोजले भन्नुभयो, ‘कालिजका एकदुईवटा फर्म र बजारको अध्ययन गरेपछि राम्रो संभावना देखे ।’ कालिजपालन र विक्री गर्ने अनुमति पाएपछि व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । पौडेलको फर्ममा यतिखेर रिक नेक प्रजातीका ८ सय कालिजका चल्लाहरु छन् । भाले कालिज ३५ सय देखि ४ हजार सम्म बिक्री हुन्छ भने पोथीको दुइहजार पाँचसय देखि ३ हजार सम्म बिक्री हुने पौडेलले बताउनुभयो । उत्पादीत कालिज बिक्रीका लागि बजारको समस्या नरहेको उहाँले बताउनुभयो । पोखरा,काठमाण्डौं,मुस्ताङ,बागलुङ लगायतका बजारहरुबाट अत्याधिक मात्रामा कालिजको माग आउने उहाँले बताउनुभयो । तर लकडाउनका कारण यतिखेर भने बिक्रीमा समस्या आएको उहाँको भनाई छ ।

भविष्यमा पाँचहजार कालिज पाल्ने योजना रहेको उहाँले सुनाउनुभयो । पौडेलको फर्ममा कालिज, लोकल कुखुरा कडकनाथ, लौकाट, टर्की पनि छन् । गत वर्ष करिब पचास लाख रुपियाँ बराबरको बिक्री गरेको उहाँले बताउनुभयो । मनोजले अहिले सम्म कुनै सरकारी अनुदान र सहुलियत ऋण लिनुभएको छैन । परिवारका साथै पौडेलका फर्ममा तिनजनाले रोजगारी समेत पाएका छन् ।