जलजलामा नगर प्रहरीकाे लागि भर्ना खुल्याे

९ भदौ, पर्वत ।

जिल्लाको जलजला गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको छ । गाउँपालिका भित्रको आन्तरीक शान्ति सुरक्षा कायम गर्नका लागि गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको हो । गाउँपालिकाले करार सेवामा राख्ने गरी हालका लागि ३ जना नगर प्रहरीको भर्ना आब्हान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार नगर प्रहरी प्रमुख सहित ३ पदका लागि आवेदन खुल्ला गरिएको छ ।

हालका लागि १ जना नगर प्रहरी प्रमुख, १ जना नगर प्रहरी हवल्दार र १ जना नगर प्रहरी जवान पदको भर्ना आब्हान भएको हो । यस अघि गाउँपालिकाले नगर प्रहरी राख्न सकिने गरी कानून गाउँ सभाबाट पास गरेको थियो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँ सभाबाट पारित भएको कानून बमोजीम नै नगर प्रहरीको भर्ना गर्न लागिएको जानकारी दिए । नगर प्रहरीले कार्य विधि बमोजीमका कार्यहरु गर्नेछन् ।

संविधानले नै गाउँ पालिका र नगरपालिकाले कानून बनाएर नगर प्रहरी भर्ना गर्न सक्ने ब्यवस्था गरेकाले सोहि बमोजीम आन्तरीक सुरक्षप्रवद्र्धनका लागि नगर प्रहरी भर्ना गर्न लागिएको अध्यक्ष मल्लको भनाई छ । भर्नाका लागि जारी गरिएको सुचना बमोजीम आगामी भदौ २३ गतेसम्म आवेदकले आवेदन गर्न सक्नेछन् ।

नगर प्रहरी प्रमुखका लागि कक्षा १२ वा सो सरह शैक्षिक योग्यता तोकिएको छ भने नगरप्रहरी हवलदारका लागि एएईई वा सो सरह तथा जवान पदका लागि कक्षा ८ सम्म पास गरेको हुनु्पर्ने ब्यवस्था गरिएको छ । उनीहरुको पारिश्रमिक र अन्य सुविधा कार्य विधि बमोजीम नै हुने अध्यक्ष मल्लले जानकारी दिए । पर्वत जिल्लामा पहिलो पल्ट जलजला गाउँपालिकाले नगर प्रहरीको भर्ना गर्न लागेको हो ।