कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

विकल्प न्यूज/बेनी
भदौं ८ गते । कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भई २० वर्ष देखि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न म्याग्दी प्रहरी सफल भएको छ । अदालतले दोषी ठहर गरेका तर फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत उक्त प्रतिवादी पक्राउ गर्न प्रहरीलाई सफलता हात लागेको हो ।

धौलागिरि गाउँपालिका ३ मुना दरका वर्ष ४४ वर्ष का चन्द्रवल घर्तीलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्धामा अदालतबाट दोषी ठहर भएका घर्ती हालसालै गाउँमा आएर लुकीछिपी बसेको भन्ने जानकारीका आधारमा प्रहरी टोली उनको घरमै पुगेर पक्राउ गरेको हो ।

२०५७ कार्तिक २१ मुना दरका वर्ष २२ का गर्बे पाइजालाई प्रतिवादी घर्ती सहितका मानिसहरुले मकैबारीमा बन्चरो प्रहार गरी हत्य गरेको अभियोगमा जिल्ला अदालतले दोषी ठहर गरी २० वर्ष (जम्म कैद) को सजाएको तोकेको थियो । प्रतिवादी घर्तीलाई भदौं ७ गते पक्राउ गरी सोमबार जिल्ला कारागार म्याग्दी पठाइएको प्रहरी नायब उपरिक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीको फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागुऔषध लगायतका मुद्दाका १३ फरार कसुरदार व्यक्तिहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक तथा सू्रचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।