संक्रिय कोरोनामुक्त जिल्ला म्याग्दीलाई सुरक्षित बनाउन चुनौती

विकल्प न्यूज/बेनी
भदौं ७ गते । आजको मिति सम्म म्याग्दी संक्रिय कोरोनामुक्त छ । विदेशबाट फर्किएका वाहेक कसैमा पनि कोरोना संक्रमण भएको छैन । व्यवस्थित क्वरेन्टाइन सञ्चालन,आइसोलेशन र जिल्ला प्रवेश गर्न कडाई गरिएका कारण समुदायमा कोरोना फैलिन नपाएको हो ।

कोरोना फैलिन नदिन जिल्ला कोराना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिकाका कारण पनि कोरोना समुदायमा फैलिन पाएको छैन । समुदायमा कोरोना फैलिन नदिन जिल्ला प्रवेशलाई कडाई गरिएको छ ।
नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी जिल्ला आएको पर्सीपल्ट जिल्ला स्थित सरोकारवालाहरुको वैठक राखेर कोरोना

विरुद्धको लडाईमा एकताबद्ध भएर जुट्ने सामुहिक प्रतिबद्धता समेत जुटाउनुभएको थियो ।
सर्वपक्षिय वैठकको सामुदायिक प्रतिबद्धता अनुसार जिल्ला प्रवेश गर्ने कालिपुल बाहेकका सवै नाकाहरु भदौं २ गते राती देखि सिल गरिएको छ ।

कालिपुल नाका पनि साँझ ७ देखि विहान ७ बजे सम्म सिल गर्ने गरिएको छ । तर नाका सिल गरेपनि कोरोना फैलिएका क्षेत्रहरुबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेहरुबाट संक्रमण हुनबाट जोगाउन भने चुनौती रहेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमण तिव्रगतिमा फैलिरहेको छ । बागलुङमा पनि समुदायमा फैलिने क्रम तिव्र छ । विभिन्न बाहनामा बागलुङ, पोखरा र काठमाण्डौंबाट दैनिक रुपमा सर्वसाधरणहरु म्याग्दी आउने क्रम रोकिएको छैन । सीमानामा कडाई गरिएपनि पहुँचवाला व्यक्तिहरुलाई जिल्ला प्रवेशमा कुनै छेकवार छैन ।

यस्तै जिल्लामा सुरुवा भएर आउने सुरक्षाकर्मी,कर्मचारी र स्वास्थ्यकर्मीहरुबाट सुरक्षित बनाउन चुनौती छ । संक्रिय कोरोनामुक्त जिल्ला कायम राख्न थप चुनौती भएकाले सवैको सकरात्मक सहयोग आवश्यकता रहेको प्रजिअ अधिकारीले बताउनुभयो ।

कोरोनाको संक्रमणको अवस्थालाई मध्यनजर गरेर थप निर्णयहरु पनि गर्नुपर्ने अवस्था आउन सक्ने प्रजिअ अधिकारीले वैठकमा राख्नुभएको थियो । राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका प्रतिनिधिहरुले कोरोनाबाट जिल्लालाई सुरक्षित बनाउन प्रतिवद्धता व्यक्त गरेका थिए ।

समुदाय स्तरमा पुगेर स्वाब संकलन 

 

जिल्लामा समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न ग्रामिण तहमा पुगेर स्वाबको नमुना संकलन गर्न थालिएको छ । पिसिआर विधिबाट कोरोनाको परिक्षणका लागि स्वास्थ्यको टोली ग्रामिणस्तरमा पुगेको हो ।
स्थानीय तहको केन्द्र तथा बजार क्षेत्रमा पनि समुदायको पिसिआर बिधिबाट कोरोनाको परिक्षणका लागि स्वाबको नमुना संकलन थालिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा र बागलुङमा समुदायस्तरमा कोरोना फैलिएकाले म्याग्दीमा पनि यसको पहिचान गर्न नमुनाका रुपमा स्वाव संकलन गर्न थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

शनिबार सम्म समुदायस्तरमा पुगेर ३ सय ४४ जनाको नमुना स्वाब संकलन गरिएकोमा ३ सय ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । उहाँका अनुसार ३६ जनाको रिपोर्ट आउन बाँकी छ ।

बेनी बजार,मंगला गाउँपालिकाको बावियाचौर,मालिकाको दरवाङ र अन्नपूर्णको पोखरेबगरमा पुगेर स्वाबको नमुना संकलन गरिएको छ । कन्ट्याक्ट टे«सिङमा परेका रघुगंगा गाउपालिकाको भगवति र पिप्लेका समुदाय स्तरका व्यक्तिहरुलाई पनि बेनीमा बोलाएर स्वाब नमुना संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बढी जनसम्पर्क हुने र आवत जावत गरिरहने सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, ब्यापारी, बैकका कर्मचारीहरुको प्रतिनिधिमुलक स्वाब लिएर परिक्षण भैरहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले जानकारी दिनुभयो । अहिले सम्म समुदायस्तरमा कोरोना देखिएको छैन उहाँले भन्नुभयो ‘कोरोना फैलिएका क्षेत्रहरुबाट जिल्लामा भित्रिने व्यक्तिहरुबाट कोरोना सर्न सक्ने चुनौती छ ।’
हाल सम्म समुदया स्तरबाट संकलित स्वाबको नमुनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले भन्नुभयो ‘समुदायस्तरमा अहिले कोरोना भाइरस संक्रमण छैन भन्न सकिने देखिन्छ ।’

आगमी दिनमा परिक्षणको दायरालाई फराकिलो बनाउँदै लैजाने र जिल्ललाई पूर्णत कोरोना भाइरस मुक्त बनाउने योजना रहेको उहाँले बताउनुभयो । हाल सम्म विदेशबाट फर्किएका मध्य ४८ जनामा कोरोना पुष्टी भएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।