पर्वतको धौलागिरी गेटमा सुरक्षा चेकपोष्ट स्थापना

विकल्प न्यूज/बेनी
भदौं ७ गते । पोखरा र बागलुङमा समुदायस्तरमा कोरोना फैलिएपछि पर्वत प्रवेशमा कडाई गर्न थालिएको छ । पर्वत प्रवेश गर्ने नयाँ पुल स्थित प्रबेश गर्ने मुख्य नाका धौलागिरी गेटमा सुरक्षापोष्ट राखेर चेकजाँचलाई कडा बनाइएको हो ।

पर्वतसँग सीधा सवारी आवतजावत हुने जिल्लाबाट प्रबेश गर्ने अत्यावश्यक बाहेक सबै सवारी साधनलाई गेटमै रोक्ने गरि चेकपोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

गेटमा चौबिसै घण्टा प्रहरीले सवारी साधन र आवतजावत गर्ने सर्वसाधरणहरुको चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । अत्यावश्यक बाहेक काम बाहेक अन्यलाई प्रवेश निषेध गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

पर्वतमा भारत र तेस्रो मुलुकबाट आउने मात्रै होइन छिमेकी जिल्लाबाट आउने मानिसबाट पनि संक्रमण फैलिन सक्ने उच्च जोखिम छ । जिल्ला प्रशासन कार्यालयले जुनसुकै बेला कफ्र्यु समेत लगाउनु पर्ने आउन सक्ने चेतावनी पनि दिएको छ। अनिवार्य रुपमा मास्क लगाउने, दुई मिटरको दुरी कायम राख्ने, भेला जम्मा हुने जस्ता स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्न पनि आग्रह गरेको छ ।

जिल्लामा कोरोनाको संक्रमण समुदायमा गए नगएको पत्ता लगाउन समुदायमा पुगेर फरक फरक पेसा व्यवसायमा संलग्न रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। जलजला गाउँपालिकाबाट पठाइएका ६८ वटा नमुना, कुस्मा नगरपालिकामा लिइएका १ सय १७ र मोदी गाउँबाट पठाईका ५८ सहित अन्य क्षेत्रबाट पठाइएको २ सय ९६ वटा स्वाब परिक्षण गरिएको थियो ।

विभिन्न कार्यक्रममा आउजाउ गर्ने जनप्रतिनिधि, कर्मचारी, भिडभाड हुने किराना पसलका सञ्चालक, ट्याक्सी चालक, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, वर्कसपमा कार्यरत मजदुर, होटेल सञ्चालक तथा त्यहाँ काम गर्ने कर्मचारी, पेट्रोल पम्पमा काम गर्ने कर्मचारी, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, हार्डवेयर पसलका सञ्चालक र सर्वसाधारण गरी उच्च जोखिममा रहेकाहरुको प्राथमिकीकरण गरी स्वाब संकलन गरिएको थियो।