ताजा समाचार:
Search

जसले अरुलाई बचाए, उनैलाई कोरोनाले बाँच्‍न दिएन

असार ६ गते ।

धनगढी : कैलालीको गोदावरी नगरपालिका-१ का ४६ वर्षीय पुष्करराज भट्ट बस चालक हुन्।

कोरोना संक्रमणबाट मृत्यु भएका उनी भारतबाट आएका नागरिकहरुको उद्दारमा खटिएका थिए। बस मालिकसमेत रहेका उनले जेठ २२ गते कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतबाट फर्किएका नेपालीलाई काठमाडौं पुर्‍याउने योजना बनाए। ४६ वर्षीय उनी ६ दाजुभाइका जेठा हुन्।

स्वस्थ्यको चिन्ता नगर्ने उनले कैलालीको अत्तरियाबाट कञ्चनपुरको दैजीसम्म बस आफैँ चलाए। गाडीमा स्टाफसमेत राखेका मृतक भट्ट दैजीबाट स्टाफलाई बस दिए। उनी गाडीको क्याविनमा बसेको परिवार स्रोतले जानकारी दिएको छ।

अरुको उद्दारमा खटिएका उनले अन्त्यमा आफ्नो उद्दार नहुँदा संसार छोड्नु पर्‍यो। उनलाई बचाउन परिवारका सदस्यहरुले हेलिकोप्टर तथा एयर एम्बुलेन्सको व्यवस्थापनका लागि स्थानीय सरकारलाई गुहारे। प्रदेश सरकारसँग आग्रह गरे।

संघीय सरकारसँग आग्रह गरिरहे। तर कतैबाट सहयोग भएन। निकै मिहिनेतपछि बिहिबार उनलाई काठमाडौं लैजान नेपाल वायु सेवा निगमको सानो जहाजको व्यवस्थापन भएको परिवार स्रोतले जानकारी दियो। तर त्यतिबेलासम्म ढिला भइसकेको थियो। ‘दाईको स्वास्थ्य अवस्था नवजीवन अस्पतालको बेडमा छँदा राम्रो थियो।

जब कोरोनाको रिपोर्ट पोजिटिभ आयो त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएको हो’ मृतक भट्टका भाई प्रमानन्द भट्टले भने। ‘कोरोना अस्पतालमा उपचारका लागि ल्याइसकेपछि एक रातसम्म त अक्सिजनसमेत पाएनन्। त्यसपछि स्वास्थ्यमा थप जटिलता देखिएको हो। उपचारका लागि जति पनि रकम खर्च गर्नु आफु तयार थियो।

समयमै एयर एम्बुलेन्सको व्यवस्था मिलाउनका लागि विभिन्न निकायमा सम्पर्क गर्दा पनि भएन। अन्त्यमा दुःखद घट्ना भयो।’यातायात क्षेत्रमा परिचित उनी निकै मेहनती व्यक्ति हुन्। भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल आएकाहरुलाई सीमा क्षेत्रबाट उनले आफ्नो गाडीमा उद्दार गरेका थिए। सीमा क्षेत्र र देहरादुनबाट समेत उनले आफ्नो गाडीमा नेपालीहरुलाई बोकेका थिए।

भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पुर्‍याउने क्रममा पुस्कर संक्रमित भएको हुन सक्ने चिकित्कसको अनुमान छ। उनी कहिले आफै बस चलाउँथे भने कहिले बसको क्याविनमा चालकसँगै बस्थे।

त्यही क्रममा उनी संक्रमित भएको हुनसक्ने चिकित्सकको भनाई छ। सीमाबाट नागरिकलाई उद्दार गरीरहेको बेला एक्कासी जेठ २८ गते स्वास्थ्यमा समस्या देखा पर्‍यो। उनलाई परिवारले धनगढीको माया मेट्रो अस्पताल पुर्‍याए। चिकित्सकले निमोनियाको आशंका गर्‍यो र औषधी दिएर घर पठायो।

फेरि जेठ ३० गते स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै अर्को मेडिकलमा पुर्‍याइयो। मृतक पुरुषको अवस्था बिग्रिएको स्वास्थ्यकर्मीले जानकारी दिएपछि फेरि उनलाई धनगढीकै नवजीवन अस्पातल पुर्‍याएको हो।

उनलाई त्यस अस्पतालमा आइसियूमा भर्ना गरियो। उनलाई कोरोनाको आशंका गरेपछि स्वाब संकलन भयो। नवजीवन अस्पतालमा भर्ना भएको दोस्रो दिन उनको कोरोना रिपोर्ट पोजिटिभ आयो। परिवारलाई झन तनाव भयो। कोरोना पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पातलमा रेफर गरेको हो।

पुस्करले बुधबार राति ७ बजेर ५२ मिनेटमा सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा अन्तिम सास छोडे। उनको शव धनगढीकै मोहना घाटमा नेपाल रेडक्रस सोसाईटीले व्यवस्थापन गरेको छ। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ। यसअघि कैलालीमा दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिममा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। बिहिबारसम्म सुदूरपश्चिममा ६१७ जनामा कोरोना पुष्टि भईसकेको छ। ८१ जना निको भएर घर फर्किका छन्। annapurnapost