ताजा समाचार:
Search

बागलुङमा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६६ पुग्यो

विकल्प न्यूज/बेनी्
असार ५ गते ।

जिल्लामा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका २ महिलासहित ८ जना र काठेखोला गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

यसैगरी काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। एकैदिन ठुलो संख्या थपिएसँगै बागलुङमा संक्रमित संख्या ६६ पुगेको छ।

संक्रमण पुष्टि भएका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाकाका १९ जना संक्रमितलाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको प्रि आइलोसेनमा ल्याउने तयारी गरिएको छ भने ढोरपाटनका पाँच संक्रमितलाई भने सोही स्थानकै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिने कार्यालय प्रमुख तथा जिल्ला कमाण्ड पोस्टका सदस्य सचिव सुरज गुरौले बताए।

गण्डकी प्रदेशको पोखरामै पीसीआर गर्ने व्यवस्था गरिए पनि परीक्षणमा ढिलाई भएपछि जिल्लाको केहि स्वाब काठमाडौं पठाइएको थियो। अहिले पनि ७ सय बढी स्वाब पोखरामा पीसीआर परीक्षणका लागि रहेको कार्यालयले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएका १२ जना डिस्चार्ज भएर घर फर्किएका छन्। त्यसबाहेक अरु धौलागिरी अस्पताल सहित क्याम्पस र बुर्तिबाङको आइसोलेसनमा उपचाररत छन्।