ताजा समाचार:
Search

दुर्लुङ पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, दुई बेपत्ता

२०७७ जेठ ३२ आइतबार

पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार  साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी पत्‍नी मीनकुमारी थापा, नातिनी विविशा थापाको मृत्यु भएको छ । यस्तै दीपा थापा र कमला विक र प्रमिसा विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै मृत्यु हुने एकजनाको भने परिचय खुल्न बाँकी रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले  जानकारी दिए ।

प्रजिअ रेग्मीका अनुसार प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले पनि त्यहाँ सुरक्षाकर्मीद्वारा उद्धार कार्य जारी छ । घटनास्थलमा डोजर पनि लगिएको छ । ‘‘तर अरु घरलाई पनि खतरा हुने भएकाले सुरक्षाकर्मी र स्थानीय बासिन्दा स्थानीय उपकरणबाटै उद्धारमा जुटेका छन्,’’ उनले भने ।

तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये सातजनाको शव फेला परेको हो । पहिरोमा परेर अझै दुईजना बेपत्ता छन् । उद्धारकर्मीले शनिबार राति तीनजनाको र आइतबार बिहान चारजनाको शव फेला पारेको हो ।