परिक्षा केन्द्रमा पुगेका एसइईका प्रश्नपत्र बेनी फिर्ता ल्याइयो

विकल्प न्यूज/बेनी
चैत ८ गते ।
माध्यामिक शिक्षा परीक्षा (एसइई)का लागि म्याग्दीका परीक्षा केन्द्रहरुमा पु¥याइएका प्रश्नपत्रहरु सदरमुकाम बेनीमा फिर्ता ल्याइएको छ। सरकारले कोरोना भाइरसको जोखिमका कारण चैत ६ गते देखि हुने परिक्षा स्थगित गरेसँगै प्रश्नपत्रहरुको सुरक्षालाई ध्यानमा राखेर सदरमुकाम बेनी फिर्ता ल्याइएको हो ।
जिल्लामा रहेका ९ वटै परिक्षा केन्द्रबाट प्रश्नपत्र शुक्रबार बेलुका बेनी फिर्ता गरी जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उत्तरपुस्तीका र अन्य सामाग्रीहरु केन्द्रमै सुरक्षित राखिएको छ ।
सरकारबाट अर्को सूचना जारी नभएसम्म ती प्रश्नपत्र प्रहरीको निगरानीमा रहने उहाँले बताउनुभयो । जिल्लामा यस वर्ष एसईईमा २ हजार १ सय ९७ जना परिक्षार्थी सहभागी हुँदैछन् ।