संसद् र स्कुल तत्काल बन्द गर्न कांग्रेस सांसदकाे माग

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक केही समयका लागि रोक्न माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम न्युनीकरणका लागि संसद बैठक रोक्न माग गरेका हुन्।

कांग्रेस सांसद तथा पूर्वमन्त्री भीमसेन दास प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई प्यान्डेमिक भनेर घोषणा गरिसकेको र प्यान्डेमिक प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराए।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाईसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता औँल्याए।

‘संसदलाइ चलाइराख्नुमा कुनै तुक छैन’, उनले भने, ‘जहाँ भिडभाग हुन्छ त्यस्तो ठाउँमा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ।’ समै सर्तकता अपनाउन नसके मुलुकले ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने भन्दै उनले यसतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराए।

उनले भीडभाड बढी हुने ठाउँ जहाजमा, स्कुल, बस र अन्य भिड जम्मा हुने स्थानबाट संक्रमण फैलिन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा तुरुन्तै बन्देज लगाउन सरकारसँग माग गरे।

उनले संक्रमण फैलिए रोक्नका लागि नेपालसँग कुानै पूर्वाधार नभएको भन्दै सक्रमण फैलिनुभन्दा पहिल्यै सचेत हुनुपर्ने बताएका थिए ।